देशलाई सुशासन र विकासतर्फ अगाडि लैजानुपर्छ – अध्यक्ष नेपाल

भक्तपुर, फागुन २०
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित सीभीएम सेकेण्डरी स्कुलले शनिवार आयोजित २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अध्यक्ष नेपालले देशमा बिद्यमान भ्रष्टाचार, बिकृति र बिसंगतिको अन्त्य गरी सुशासन र विकासतर्फ मुलुकलाई अगाडि लैजानुपर्ने बताउनुभएको हो ।
पुर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले गुणस्तरिय शिक्षाको लागि आवश्यक नीति निर्माणमा राजनीतिक नेतृत्व चुक्दै आएको बताउँदैं त्यसमा आफुपनि दोषी भएको स्विकार गर्नुभयो । उहाँले शिक्षाले विवेक जागृत हुने ज्ञान दिँदैं असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
सरकार, शिक्षण संस्था, अभिभावक र सरोकारवाला सबैले सुशासन युक्त शिक्षा नीति निर्माणमा विशेष जोड दिनुपर्ने औल्याउदै उहाँले आजको शिक्षा युगिन, बैज्ञानिक, सान्दर्भिक, सुलभ, देश भक्तिपुर्ण र आत्मबिश्वास बढाउने हुनुपर्ने बताउनुभयो ।


शिक्षाले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउदै उहाँले समाज सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संसारको जुनसुकै कुनामा गएपनि म नेपाली हुँ भन्ने भावना जागृत गर्न सक्नु पर्ने बताउँदैं संसारमा जहाँ रहेपनि मित्रवत व्यवहार गर्नुपर्ने सुझाव दिनुभयो । “हामी नेपाली शत्रुता होईन सबैसँग मित्रता चाहन्छौ, हाम्रो भुमिलाई पनि कसैले समस्यमा नपारिदिउन् भन्ने चाहन्छौँ, सबैमा म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, ईतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठले शिक्षाले विद्यार्थीलाई सीपयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि असल शिक्षा आवश्यक भएको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जबसम्म विद्यार्थीको चाहना असल शिक्षक बन्ने हुँदैन तबसम्म शिक्षाले सही दिशा लिन नसक्ने बताउनुभयो । उहाँले विद्यार्थीले भबिष्यमा डाक्टर, ईन्जिनियर मात्र नभई असल शिक्षक पनि बन्छु भन्ने अबस्था सृजना गर्न गर्नुपर्नेमा जोड दिनुभयो ।


मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले परीक्षामा ए प्लस ल्याउनुमा उपलब्धी ठान्ने शिक्षाका कारण आज उच्च शिक्षा हासिल गरेका व्यक्तिमा सामान्य व्यवहारिक ज्ञान समेत शुन्य हुने गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष श्यामसुन्दर बस्नेत, प्रिन्सीपल तेजकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक पुरुषोत्तम बुढाथोकीले असल र संस्कारयुक्त शिक्षालाई बिद्यालयले जोड दिएको बताउनुभयो ।
सो अवसरमा विद्यालयको कक्षगत परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, विद्यालयको विभिन्न क्रियाकलापका विजेताहरुलाई पुरस्कृत गर्नुका साथै विद्यार्थीहरुले अभिभावकहरुको सम्मान विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।