सोझै एकदिवसीय मान्यता जोगाउन नेपालले लिग २ का ३ खेल जित्नुपर्ने

भक्तपुर, फागुन २०
नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा शुक्रवार पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध ३ विकेटको रोमाञ्चकारी जित निकालेको छ । जितसँगै सोझै नेपालको एकदिवसीय मान्यता जोगिने सम्भावना बढेको छ ।
आइसीसी प्रावधान अनुसार लिग २ को शिर्ष पाँच टोलीले साझै एकदिवसीय मान्यता पाउँछन । नेपाल अहिले लिग २ को शिर्ष ६ मा रहेको छ । नेपालले लिग २ मा अब ५ खेल खेल्न बाँकी छ । यस्तोमा नेपालले अब बाँकी मध्ये ३ खेल जिते एकदिवसीय मान्यता सोझै जोगिने समिकरण बनेको हो ।
लिगमा नेपाल ३१ खेलमा १४ जित, १५ हार, १ बराबरी र १ खेल अनिर्णित हुँदा ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई पछि पार्न अव तीन खेल जित्नुपर्ने हुन्छ । अमेरिका ३६ खेलमा १६ जित, २ बराबरी र १ अनिर्णितसँगैं ३५ अंकका साथ चौथो स्थानमा छ । नेपालले तीन खेल जित्दा ३६ अंक हुनेछ । ३६ अंक शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ ।
लिग २ को शीर्ष तीन टोलीले सोझै विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् । नेपाललाई सोझै विश्वकप छनोट खेल्न ४० अंकमा पुग्नुपर्छ । नेपालले बाँकी सबै खेल जितेको खण्डमा नामिबियालाई पछि पार्दै जिम्बावेमा हुने विश्वकप छनोट सिधैं खेल्न पाउनेछ ।
नेपालले यही सोमबार युएईसँग खेल्नेछ । त्यसपछि नेपालले पिएनजी र युएईसँग घरेलु मैदानमा लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्नेछ । नेपालले ९ मार्चमा पिएनजी, १२ मार्चमा युएई, १३ मार्चमा पुनः पिएनजी र १६ मार्चमा युएईसँग खेल्नेछ । नेपालले सोझै विश्वकप ग्लोबल छनोट खेल्न यी पाँचै खेल जित्नुपर्ने छ ।

 

आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि लिग च्याम्पियन स्कटल्यान्ड र ओमान छनोट भइसकेका छन । अब नेपाल, युएई र नामिबिया मध्ये एक टोली सोझै विश्वकप छनोटमा स्थान बनाउने छन् । लिग २ का बाँकी चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।
लिग २ का शीर्ष पाँच टोलीले सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछन् भने छैटौं र सातौं स्थानमा रहने टोलीको एकदिवसीय मान्यता गुम्नेछ । ती दुई टोलीलाई एकदिवसीय मान्यता पुनः प्राप्त गर्ने क्वालिफयर प्लेअफ अन्तिम मौका हुनेछ ।
नामिबियामा हुने क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोलीसँगै च्यालेन्ज ए र बी का विजेता क्यानडा र जर्सी हुनेछन् । क्वालिफायरमा यी ६ टोली प्रतिस्पर्धा गर्दा दुई टोलीले एकदिवसीय मान्यता प्राप्त गर्नेछन् ।
क्वालिफायर प्लेअफमा एकदिवसीय मान्यता गुमेका चार टोली मध्ये शीर्ष दुईमा पर्न सके दुई टोलीले एकदिवसीय मान्यता पुनः प्राप्त गर्नेछन् । यदि नेपालले लिग–२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता जोगाउन नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । क्वालिफायर प्लेअफमा पनि एकदिवसीय मान्यता पाउन नसके चार वर्षको लागि नेपालको एकदिवसीय मान्यता गुम्नेछ ।
आइसीसीका अनुसार अर्को वर्ष शुरु हुने लिग–२ मा ८ टोली हुनेछन् । नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्नेछ । नेदरल्यान्ड्सले यस पटक भने १२ टेस्ट टोलीसँगै सुपर लिग खेल्दै आएको थियो ।