एएफसी एसियन कपको लागि नेपाली महिला टोली घोषणा

भक्तपुर, फागुन २०
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु–२० महिला एसियन कप २०२४ छनोटका लागि नेपाली अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेको २५ जनाबाट शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
प्यालेस्टाइनमा हुने छनोट खेलका लागि गोलकिपरमा कविता विक, सावित्री किसान र लिला जोशी, डिफेन्डरमा सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ छनोटमा परेका छन ।
यसैगरी मिडफिल्डरमा तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सदिपा भोलनले टोलीमा स्थान बनाएका छन ।
साफ च्याम्पियनसिपमा सहभागी मध्ये चोटका कारण कुसुम खतिवडासँगै सजनी थोकर र अन्जली चन्दले एसियन कप छनोटमा स्थान बनाउन सकेनन् ।साफको टोलीमा नरहेकी हिमा रावत, जेनिफर राणा र सदिपा भोलनले टोलीमा स्थान बनाउन सफल भएका छन् ।
नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग प्रतिष्पर्धा गर्नेछ । प्रशिक्षक गुरुङले बंगलादेशमा भएको साफ यु–२० महिला च्याम्पियनसिपमा पनि टोलीको प्रशिक्षक रहेका थिए ।