आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको रोमाञ्चककारी जित

भक्तपुर, फागुन १९
आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलामा पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको रोमाञ्चकारी खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । संयुक्त अरव ईमिरेट्स (युएई)को दुवईमा शुक्रवार सम्पन्न खेलमा विकटकिपर तथा ओपनर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले पिएनजी विरुद्ध तीन विकेटको जित हात पारेको हो । यो जितसँगै नेपालको एकदिवसीय मान्यता जोगिने सम्भावना बढेको छ ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ शेखले ८६ रन र स्पिनर सन्दीप लामिछानेले ३५ रनमा अविजित रहे । आसिफले १ सय ३० बलमा २ चौका र १ छक्का तथा सन्दीपले ५० बलमा ३ चौका प्रहार गरे ।
एक समय ३१.६ ओभरमा १०५–७ को अवस्थामा पुगेको नेपाललाई जिताउन आसिफ र सन्दीपले ७७ रनको अविजित साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा आठौं विकेटका लागि नेपालको यो उच्च साझेदारी हो । यसअघि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध ५५ रनको साझेदारी गरेका थिए ।


कुशल मल्लले २६ बलमा २ चौकासहित २३ रनको यागदान दिए । अन्य व्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेन । ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए । ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए ।
युएई भ्रमणमा पहिलो पटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाउँदै कप्तान असाद भालाको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे । कप्तान रोहित कट बिहाइन्ड हुँदै १ रनमा पेभेलिएन फर्के । आरिफ शेखलाई एक रनमा बोल्ड गरेपछि नेपाल ५३–५ को दयनीय अवस्थामा पुगेको थियो ।
दीपेन्द्रसिंह ऐरी सेसे बाउको बलमा ८ रनमा एलबीडब्लू आउट भए । सातौं विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ३१ रनको साभेदारी गरेका थिए ।
पिएनजीका कप्तान असाद भालाले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । सेमो कमियाले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । सेसे बाउको नाममा दुई विकेट रह्यो ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पिएनजीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।


ओपनर टोनी उरा र किप्लिङ डोरिगाले पहिलो विकेटका लागि १०.३ ओभरमा ४२ रनको साझेदारी गर्दै पिएनजीलाई राम्रो सुरुवात दिलाएका थिए । हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाउँदा नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११÷११ रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । सन्दीप लामिछाने ९ दशमलब २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए ।
योसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता जोगाउन अव ५ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जित्न सके नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले अव सोमबार युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा अन्तिम चार खेल खेल्नेछ ।