यसवर्षको शहिद स्मारक ए डिभिजन लिग आजबाट शुरु, पहिलो खेलमा खुमलटार र फ्रेण्ड्स भिड्ने

भक्तपुर, फागुन १९
नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग आज शुक्रवारबाट शुरु हुँदैछ । डबल राउण्ड रोविनको आधारमा हुने यसवर्षको शिर्ष डिभिजनको लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान गरी तीन मैदानमा हुनेछ ।
लिगको पहिलो खेल नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा शुक्रवार साँझ ५ः३० बजे हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुने छ ।