भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न उपप्रधानमन्त्री श्रेष्ठ निर्देशन

भक्तपुर, फागुन १८
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ । उपप्रधान मन्त्री श्रेष्ठले बिहिवार उक्त सडकको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने चेतावनी समेत दिनुभयो ।
उहाँले अनुगमनपछि सडक विस्तारको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदैं अवस्था यस्तै रहे सरकार चुप लागेर नबस्ने प्रतिक्रिया दिनुभयो । सडक निर्माणको अवस्था सन्तोषजनक छैन । दुई वर्षमा सकिनुपर्ने सडक ७ पटक म्याद थप भइसकेको छ । अबको एक महिनामा निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे सरकार चुप लागेर बस्न सक्दैन, उहाँले भन्नुभयो ।
भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधिन सडकको ठेक्का भारतीय कम्पनी आराभाली इन्फ्रा पावर लिमिडेट र नेपाली साझेदार शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएको हो । यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्रमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर पटक पटक गरी सात पटक म्याद थप गरिसक्दा पनि अझै यो सडकको निर्माण कार्य सम्पन्न भएको छैन ।
सडक घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गर्नाले स्थानीयले विगत ९ वर्षदेखी कष्टपूर्ण यात्रा गरिरहनु परेको छ । यो सडकको दुरावस्थाकै कारण नगरकोटको पर्यटन उद्योग समेत प्रभावित पारेको छ ।
सडक अनुगमनका लागि पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई स्थानीय प्रत्यक्ष गुनासो समेत राखेका थिए । स्थानीयले निर्माण कम्पनीलाई कालोसुचीमा राख्नुपर्ने माग समेत राखेको थिए । उनीहरुले ठेकेदारलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयलाई सडक एक महिनाभित्र निर्माण सम्पन्न नभए नियम बमोजिम कारवाहीको प्रक्रियामा जाने आश्वासन दिनुभयो । “यो सडक निर्माण सात पटक म्याद थप भइसकेको छ, बीचमा क्रसर उद्योगको समस्या आएकाले गत जनवरीमा एक महिना थप समय दिएका हौँ । अब कुनै पनि बाहनामा समय थप हुदैन ।” उहाँले तत्कालै निर्माण कम्पनीसँग छलफल गरी समीक्षा गर्ने र थप निर्णय लिने बताउनुभयो ।
अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोली सहभागी थिए ।
उप प्रधानमन्त्री श्रेष्ठले अनुगमनपछि भारतीय राजदुत, निर्माण कम्पनीका प्रतिनिधि, आयोजनाका कर्मचारीहरुसँग छलफल समेत गर्नुभएको थियो । सो अवसरमा निर्माण कम्पनीले सो सडकको काम करिव ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएका थिए । मन्त्री अनुगमनमा आउने भएपछि निर्माण कम्पनीले रातारात सडकमा पानी हालेर धूलो नउड्ने बनाएको थियो ।