भक्तपुरको कटुञ्जेमा अन्तराष्ट्रियस्तरको श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव हुने

भक्तपुर, फागुन १७
भक्तपुरको सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमन्निजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरण एवम् श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९’ हुने भएको छ । यही फागुन २४ गतेदेखी शुरु हुने महोत्सव ३० गते समापन हुनेछ ।
महोत्सव आयोजक समितिले बुधवार पत्रकार सम्मेलन गर्दै पहिलो दिन कलश यात्राका साथै गजुर अनावरण हुने जानकारी दिए । महोत्सव अवधीभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)हरुले श्री १०८ तारतमसागर पाठ पारायण हुनेछ । अर्कोतर्फ दैनिक विभिन्न गुरु महाराजहरुबाट प्रवचन हुनेछ ।
महोत्सवमा दैनिक सेवा पुजा आरती, योग ध्यान, चितवनी, पाठ पारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती, प्रवचन र साँस्कृतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।
त्यसैगरी विशेष कार्यक्रमको रुपमा दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण र फागुन ३० गते सामूहिक उपनयन कार्यक्रम हुने मुल समारोह समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनुभयो ।
महोत्सवमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभुषित जगत्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको शुभआशिर्वचन, श्री मंगलधाम कालिम्पोङ्गका गादिपति श्री १०८ गुरुजी मोहनप्रियाचार्यजी महाराज, श्रीनवतनधाम गादिपति १०८ बाबा अमृतराजजी महाराजद्धारा श्रीमत्तारतम सागर वाणी चर्चा एवम् श्रीकृष्ण रसामृत, श्रीभद्रावतिपुरीधाम भरोडा भारतका गादिपति श्री १०८ टहलकिशोरजी महाराजजी तथा श्रीनवतमधामका महन्त श्री १०८ पुरुषोत्तम महाराजजीका मुखारविन्दबाट सरस तथा रसापन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो ।


महोत्सवमा भारत, अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायत विभिन्न देशबाट समेत साधु, सन्त, महन्त, विद्धान, बुद्धिजिवी, लब्धप्रतिष्ठित व्यक्तित्व, समाजसेवी, उद्यमी, व्यवसायी, कलाकारलगायतको दैनिक १० हजारको संख्यामा सहभागिता रहने आयोजकले दावी गरेको छ ।
महोत्सवलाई व्यवस्थित र सफल बनाउन आर्थिक संकलन, स्वयम् सेवक सेवा, प्रचार प्रसार, अतिथी सत्कार, भोजन सेवा, ब्रह्ममुनी सेवा, आवास सेवालगायत ३६ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी देश विदेशका भक्तजनलाई कृष्ण प्रणामीहरुका घर, स्थानीय विद्यालय र खाली घरमा बसोबासको व्यवस्था गरिएको छ ।
महोत्सवमा करिव ६० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । खर्चको व्यवस्था महोत्सवमा सहभागी हुने श्रीकृष्ण प्रणामी समूदायका भक्तजनहरुले स्वईच्छाले प्रदान गरिने मुठी दानबाट संकलन गरिने आयोजकले जानकारी दिए ।
कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिर २०५७ बैशाख १७ गते निर्माण शुरु भएको थियो । एक रोपनी क्षेत्रफलमा पैmलिएको मन्दिरमा वर्षभरि नै मासिक मेला पर्व सञ्चालन हुनुका साथै महिनाको पहिलो शनिवार ब्रह्मसभा सत्सङ्ग सञ्चालन हुँदै आएको छ । मन्दिरबाट अनाथ बालबालिका र वृद्धवृद्धाहरुको संरक्षण, पठनपाठन एवम् भरण पोषण हुँदै आइरहेको छ ।