फागु पर्व शुरु, भक्तपुरमा भिमसेनको लिंग प्रदर्शन

भक्तपुर, फागुन १५
यस वर्षको रंग र खुसियालीको पर्व फागु सोमवारदेखी शुरु भएको छ । काठमाण्डौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ विधिवत रुपमा चीर उठाएपछि फागु पर्व शुरु भएको हो ।
भक्तपुरमा भने काठमाण्डौंको तुलनामा भिन्न तरिकाले फागु पर्व शुरु भएको जनाउ दिने परम्परा रहेको छ ।
वसन्तपुरमा रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर ठड्याउने प्रचलन रहेको छ । तर भक्तपुरमा तचपालस्थित भिमसेन मन्दिरको पाटीमा काठको बडेमानको पुरुष जनईन्द्रिय अंग (लिंग) प्रदर्शन गरी फागु पर्व सुरु भएको जनाउ दिने परम्परा रहेको छ ।
भक्तपुरमा फागु पर्वको शुरुवाट भएको जनाउन भिमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखी तीन हात लामो, ३० ईन्च गोलाईको काठको बडेमानको लिंग प्रदर्शनमा राखिन्छ । लिंगसँगै यौन समागमनको दृष्य झल्कनेगरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग प्रवेश गराईएको हुन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनीको प्रतिक कपडाको प्वाल भित्र छिर्ने गर्दछ
भक्तपुरबासीले सो काठको लिंगलाई भिमसेनको लिंग र रातो कपडालाई द्रौपदीको योनीको रुपमा लिईन्छ । मन्दिरभित्र रहने सो लिंगलाई फागु पर्वको अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । “पहिला पहिला लिंगको प्रतिक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रुपमा यसरी प्रर्दशनमा ल्याएको हो,” उहाँले भन्नुभयो ।
बसन्त क्रतुको आगमनसँगै फागुपर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ । यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको उहाँको भनाई रहेको छ ।
लिंगलाई प्रदर्शनमा राखिनु अघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरी रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । घर र पसलमा घुमाउन ल्याएको लिंगको पुजाआजा गरी दर्शन गर्नाले व्यापार व्यवसायमा उन्नती प्रगती हुने जनविश्वास रहेको छ । त्यसैले पाटीमा प्रदर्शनमा राखिएको लिंगको दर्शनका लागि फागु पुर्णिमासम्म भक्तजनको घुईंचो समेत लाग्ने गर्दछ ।
यसरी लिंग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखी शुरु भएको हो भन्ने एकिन तथ्य फेला परेको पाईंदैन । यद्यपी भिमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७ औँ शताब्दीमा निर्माण गरेको इतिहास पाईएकाले यो प्रचलन पनि सोही समयदेखी प्रचलनमा आएको अनुमान गरिएको छ ।