क्रिकेट विश्वकप लिग टु मा नेपालद्धारा पिएनजी पराजित

भक्तपुर, फागुन १५
नेपालले आइसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पिएनजी)लाई ४ विकेटले पराजित गरेको छ । पिएनजीले जितको लागि दिएको २०४ रनको लक्ष्य नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतले ४५.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
युएईको दुवइमा जारी त्रिकोणात्मक श्रृंखलामा कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौकासहित सर्वाधिक ५६ रन बनाए । नेपालले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट शुरुवात गर्दै पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ सहित ४४ रन बनाए ।
ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । कप्तान रोहित पौडेल २० रन बनाएर आउट हुँदा नेपाल १३५–४ को स्थितिमा थियो । त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे ।
आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का खेल्दै २२ रन जोडे । उनी ३९औं ओभरमा आउट भए । लगत्तै आरिफ ६२ बलमा १ चौका मद्दतमा ३३ रन बनाएर आउट भए । कुशल मल्ल अविजित १२ जोडे । सोमपाल कामी ५ रनमा अविजित रहे ।
पिएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १–१ विकेट लिए ।


यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । डेथ ओभरमा नेपाली बलरले लय गुमाउँदा पिएनजीले २ सय रन कटाएको थियो । ३० ओभरमा १०० रन बनाएको पिएनजीले पछिल्लो २० ओभरमा १०३ रन बनाएको थियो ।
पिएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो । पिएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६–३६ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाए ।
यस्तै सेस बाउले ३१, विकेटकिपर किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए । पिएनजीका लागि डोरिगा र सेसे बाउले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । यस्तै चाड सपर र नोर्मन भुनले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरे ।
नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए ।


आइसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालको यो लगातार पाँचौं जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो ।
जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।