कमेरोटार आयोजनामा जग्गा प्रशासनतर्फ ८० प्रतिशत कार्य सम्पन्न, भौतिक निर्माणतर्फ खानेपानी वितरण र सडक कालोपत्रे शुरु

भक्तपुर, फागुन ९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनाको जग्गा प्रशासनतर्फको कार्य करिव ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले माघ मसान्तसम्म स्थायी जग्गाधनी पुर्जा (लालपुर्जा) वितरणको कार्य ७७ प्रतिशत सकिएको जानकारी दिँदैं समग्रमा जग्गा प्रशासन सम्बन्धी कार्य ८० प्रतिशत सकिएको जनाएको हो ।
आयोजनाका अनुसार आयोजना क्षेत्र भित्रको जग्गा रिप्लटिङ गरी २१ वटा नापी नक्सा सिट प्रमाणित गर्ने कार्य सम्पन्न भइसकेको छ । यस्तै आयोजनाको सेल्स प्लट बिक्रि गर्ने कार्य ८९ दशमलव १७ प्रतिशत सकिएको आयोजनाका उपभोक्ता समितिका अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाले न्युनतम क्षेत्रफल कायम गर्न र प्राविधिक थप जग्गा वापत उपभोक्ताबाट प्राप्त गर्नुपर्ने रकम ८१ दशमलव २९ प्रतिशत प्राप्त गरिसकेको श्रेष्ठले बताउनुभयो । यसैगरी आयोजनाको संधियार प्लट बिक्रि गर्ने कार्य समेत ३९ दशमलव २२ प्रतिशत सम्पन्न भएको छ ।
आयोजना क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण सम्बन्धी कार्य हाल ३ वटा ठेक्का प्रक्रिया मार्फत भइरहेको छ । ती मध्ये सबैभन्दा ठूलो ठेक्का श्रेष्ठ नागार्जुन मुडभरी एण्ड जोशी जे. भी. काठमाण्डौंले पाएको छ । उक्त निर्माण कम्पनीले कमेरोटार आयोजना क्षेत्रभित्र सडक स्त्तोरन्नती, ढल निकास, खानेपानी र विद्युतको लाइन बिस्तारसहितको निर्माण जिम्मा पाएको छ ।
कुल ७४ करोड २६ लाख ९९ हजार ८५० रुपैंयाको उक्त ठेक्का श्रेष्ठ नागार्जुन मुडभरी एण्ड जोशी जे. भी. काठमाण्डौंले २६ दशमलव ४१ प्रतिशत कम अर्थात ५४ करोड ६५ लाख ५१ हजार ८०५ रुपैंयामा सकारेको थियो ।
यसैगरी आयोजना क्षेत्रभित्र ढुंगाको मेसिनरी पर्खाल लगाउने कार्य कल्पवृक्ष एटलेन्टिक जे. भी. बालाजु काठमाण्डौंले गरिरहेको छ । कुल ५ करोड ८२ लाख ५७ हजार ५४० रुपैंयाको उक्त ठेक्का कल्पवृक्षले २ करोड ६९ लाख ४८ हजार ७०१ रुपैयामा सकारेको थियो । जुन कुल अनुमानित लागतको ५३ दशमलव ७४ प्रतिशत कम हो । २०७९ जेठ १२ गते सम्झौता भएको उक्त ठेक्काको म्याद आगामी २०८० जेठ ११ गते सम्म रहेको छ । हालसम्म उक्त कार्यको प्रगती जम्मा २६ प्रतिशत रहेको छ ।
आयोजना क्षेत्रभित्र खानेपानी वितरण सहज बनाउन भुमिगत ट्यांकी निर्माणको कार्य पनि भइरहेको छ । कुल ६ करोड २७ लाख ३६ हजार ८०७ रुपैंया लागतको उक्त कार्य भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा सूर्यविनायकले ४ करोड ४५ लाख ११ हजार ७१८ रुपैंयाका सकारेको हो । जुन कुल लागतको २९ दशमलव ०५ प्रतिशत कम हो । यस योजनाको कार्य १५ प्रतिशत सकिएको छ ।
आयोजनामा सडक कालोपत्रेको कार्य समेत शुरु भएको छ । हालसम्म आयोजनामा करिव ३ किलोमिटर सडक कालोपत्रे भएको छ । हालै करिव २ किलोमिटर सडक कालोपत्रे भएको छ । यसअघि सम्पन्न भएको एक किलोमिटरसहित कवि ३ किलोमिटर सडक कालोपत्रे भएको छ, आयोजनाका ईं दिगम्बर श्रेष्ठले भन्नुभयो । त्यसैगरी सडकको सबग्रेडको कार्य ५२ प्रतिशत, सबबेस बिच्छ्याउने कार्य २२ प्रतिशत र बेस कोर्सको कार्य १९ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
आयोजनामा ढलको लागि ह्युम पाईप विच्छ्याउने कार्य करिव ७९ प्रतिशत सम्पन्न भएको छ । आयोजनामा १५० देखी ६०० एम एम डायमिटरका ह्युम पाईप विच्छ्याउने योजना रहेको छ । जसमध्ये ६०० एम एमको ९३ प्रतिशत, ४०० एम एमको ७७ प्रतिशत, ३०० एम एमको ७० प्रतिशत, २५० एम एमको ८८ प्रतिशत र १५० एम एमको ६५ प्रतिशत ढल बिच्छ्याउने कार्य सम्पन्न भएको ईं. श्रेष्ठले बताउनुभयो ।


खानेपानीतर्फ पाइप लाइन बिस्तार ५६ प्रतिशत सकिएको छ । आयोजनाले करिव २१ सय प्लटमा खानेपानीको धारा जडानका लागि पाइप लाइनको बिस्तार गरिरहेको छ । जसअनुसार २०० एमएमको डिआई पाइप बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ भने १५० एमएम डिआई पाइप बिच्छ्याउने कार्य ४८ प्रतिशत, ७५ एमएम एचडीपिई पाइप बिच्छ्याउने कार्य ८३ प्रतिशत सम्पन्न भइसकेको छ । घरघरमा धारा जडानको कार्य समेत ७० प्रतिशत सम्पन्न भइसकेको छ । उक्त पाइप लाइनमा खानेपानी वितरण समेत शुरु भईसकेको ईं श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी आयोजनामा विद्युत बिस्तारको कार्य ५४ प्रतिशत सम्पन्न भएको छ । आयोजना भित्र ११ मिटर र ९ मिटरका विद्युत पोल गाड्ने कार्य सम्पन्न भइसकेको छ भने तार बिस्तार र ट्रान्सफरमर जडानको कार्य समेत भइरहेको छ ।
कमेरोटार आयोजना तत्कालिन मध्यपुर थिमि नगरपालिकाको मिति २०५९ जेठ ३० गतेको बोर्ड बैठकको माग बमोजिम तत्कालिन काठमाण्डौं उपत्यका नगर विकास मूल समितिको २०५९ असार २४ गते बसेको १०४ औं बैठकले अनुमोदन गर्ने निर्णयले शुरु भएको हो ।
वि. सं. २०५९ मंसिर १ गते स्थानीय पाटी विहारमा भएको जनभेलाले उपभोक्ता समिति गठन भई कार्य भएको आयोजनाको विस्तृत परियोजना सहितको तीन वटा अवधारणा नक्सामाथि उपभोक्ताहरुमा छलफल भई हालको अवधारणा नक्सा विस्तृत परियोजना पारित भएको हो । आयोजनाको उक्त अवधारणा २०६१ माघ ५ गतेको मन्त्रीस्तरिय निर्णयले स्विकृत भई २०६१ फागुन १७ गतेको राजपत्रमा प्रकाशित भएको र २०६२÷०६३ मा मात्र आयोजना क्षेत्रभित्र भौतिक पुर्वाधार विकासको कार्य शुरु भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष मदनकृष्ण श्रेष्ठले बताउनुभयो ।