एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करण नेपालमा हुने

भक्तपुर, फागुन ७
एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करण नेपालमा हुने भएको छ । एसियन एथलेटिक्स एसोसिएसनको तत्वाधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप यसै महिना २३ गते नेपालमा आयोजना हुने भएको हो ।
गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रमा सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक एवम् सहयोगी समेत गरि प्रत्यक्ष रुपमा करिव ६ सय ५० जनाको सहभागिता रहने संघका अध्यक्ष राजीव विक्रम शाहले जानकारी गराए ।
अध्यक्ष शाहले नेपाल आयोजक देशको रूपमा रहने र प्रतियोगिताको सञ्चालन एसियन एथलेटिक्सले गर्ने बताए । उनले प्रतियोगितामा जापान, ताईवान, हङकङ, कोरिया लगायतका पावर हाउस देशका खेलाडी सहभागी हुने बताए ।
प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ ।
च्याम्पियनसिपको अनुमानित बजेट तीन करोड ६५ लाख ५५ हजार पाँच सय रुपैया रहेको छ । च्याम्पियनसिपका लागि बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ विनियोजन भइसकेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले खेलको विकास मात्र नभई पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने भएकाले प्रदेश खेलकुदले पयर्टकिय खेलकुदमा बढी जोड दिएको सदस्य सचिव भण्डारीले बताए ।
च्याम्पियनसिप सफल पार्नको लागि मूल आयोजक समिति, सचिवालय टिमसहित विभिन्न ७ वटा समितिहरु गठन गरिएको संघले जनाएको छ । यस च्याम्पियनसिप आयोजना गर्न नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र विभिन्न प्रदेशसँगै संघ संस्थाको सहयोग रहने संघले जनाएको छ ।
यस च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाउने खेलाडीका लागि फागुन ९ गते छनोट हुने र त्यसपछि बन्द प्रशिक्षणमा राखिने एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार छनोट भएका खेलाडीलाई झन्डै १० दिन बन्द प्रशिक्षणमा राखिनेछ ।
यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यसअघि नेपालले सन् २००१ मा क्रस कन्ट्रीको छैटौं संस्करण आयोजना गरेको थियो । त्यति बेला नेपालले जुनियर महिलातर्फ कास्य पदक जितेको थियो ।