ख्वप इन्जिनियरिङ कलेजमा ६१ लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर, फागुन ७ गते
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा आइतवार करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति वितरण गरिएको छ । कलेजले गरिब तथा जेहेनदार विद्यार्थी शिर्षकमा सो छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रृत्ति अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजले ३२ लाख ९ सय रुपैंयाको खात्रवृत्ति वितरण गरेको कलेजका प्राचार्य सुजन माकले बताउनुभयो ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङले २९ लाख ३६ हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरेको प्राचार्य सुनिल दुवालले जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले वार्षिक ४ करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउनुभयो ।
उहाँले इमानदारीपूर्वक देश र जनताको निम्ति सेवा गर्ने भावना विद्यार्थीहरुमा हुनुपर्नेमा जोड दिँदै नगरपालिकाले अन्य विभिन्न विषयमा पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋण समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्ष बितिसक्दा पनि जनताले देशमा कुनै परिवर्तनको महसुस नगरेको बताउँदै प्रमुख प्रजापतिले ‘आर्थिक समानतासहितको प्रजातन्त्र आजको आवश्यकता हा’े भन्नुभयो ।
राजनीतिक अस्थिरता भएको देशमा विकासको सम्भावना नहुने भन्दै उहाँले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व भएको बताउनुभयो । विद्यार्थीहरुले अध्ययनसँगसँगै देशको राजनीतिबारे पनि ध्यान दिन सके हामीले सोचेअनुसार देशमा परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दे उहाँले परिश्रम र मेहनती विद्यार्थीले नै सफलता हासिल गर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा कलेज सञ्चालक समितिका सदस्य रबिन्द्र ज्याख्वले नगरपालिकाले हाल ८ वटा कलेज, ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको जानकारी दिँदैं ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिको प्रतिक्षामा नगरपालिका रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाका उद्देश्यमाथि प्रष्ट पार्दै निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थीहरु लाभान्वित भएको र भक्तपुरका दुवै इन्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीहरुमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो ।