भगवान् शिवको पूजा गरी महाशिवरात्रि मनाईंदैं, भक्तपुरका शिवालयमा भक्तजनको घुईंचो

भक्तपुर, फागुन ६
फाल्गुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिवार भगवान शिवको पुजा आराधना गरी धुमधामका साथ मनाईंदैछ । यसवर्ष साँझ ६ बजेर ६ बजेसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै महाशिवरात्रि पर्व मनाउन लागिएको हो ।
हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ । भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ ।


भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ ।
यसैबीच महाशिवरात्रिको अवसरमा भक्तपुरका विभिन्न शिवालयहरुमा बिहानैदेखी श्रद्धालु भक्तजनको भिड लागेको छ । भक्तपुरको केदारनाथको शिर डोलेश्वर, आशापुरी, दत्तात्रय, यातु महादेवलगायतका शिवालयमा भक्तजनको घुईंचो लागेको हो ।


सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको मेला भर्न भारतलगायत नेपालका विभिन्न स्थानबाट करिव ४ सय साधुसन्त, जोगी, सन्यासी, नागा बाबाहरुको समेत आगमन भएको छ । डोलेश्वरमा महाशिवरात्रि पर्वमा आएका साधुसन्त, बाबाहरुको बसोबास, धुनी जगाउन काठ दाउरा र खानपानको व्यवस्था केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले गरेको छ ।