स्थानीय तहका उम्मेदवारहरुको जरिवाना राष्ट्रपतिद्धारा मिनाहा

भक्तपुर, फागुन ५
गत स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले तोकेको जरिवाना रकम बुझाउन नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार त्यस्तो जरिवाना मिनाहा गरिदिएपछि स्थानीय तहका उम्मेदवारहरुले आयोगले तोकेको जरिवाना बुझाउन नपर्ने भएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी त्यस्तो जरिवाना मिनाहाको निर्णय भएको जनाएको हो । नेपाल नगरपालिका महासंघ र गाउँपालिका महासंघको पहलमा र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो निर्णय गर्नुभएको हो ।
दुवै पालिका महासंघले सबै उम्मेदवारहरुको निवेदन संकलन गरी राष्ट्रपति कार्यालयमा जरिवाना मिनाहाका लागि निवेदन दिएको थियो । त्यस्तै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो सम्बन्धमा सिफारिस गरेको थियो ।
मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७९÷११÷०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।