दुवाकोटको गोल्डेन सुनगाभा स्कुलले साताव्यापी रजत महोत्सव मनाउने

भक्तपुर, फागुन ५
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कुल स्थापनाको २५ वर्ष भएको अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन यही फागुन ७ गतेदेखी साताव्यापी कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउन लागिएको हो ।
सो सम्बन्धमा जानकारी दिँदैं विद्यालयका प्रधानाध्यापक महेश गौतमले रजत महोत्सवको पहिलो दिन फागुन ७ गते विद्यार्थीहरुबीच पिटी प्रतियोगिता हुने र अभिभावकहरुबीच विविध खेल प्रतियोगिता आयोजना गर्नुका साथै बिहान वाकाथुन हुने बताउनुभयो ।
दोस्रो दिन विद्यालयले सञ्चालन गरिरहेको गायन र डान्स आइडलको फाइनल सञ्चालन गरी विजेताहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ ।
तेस्रो दिन विद्यालयलमा परम्परागत कला संस्कृति र खानाको प्रदर्शनी, कला र विज्ञान प्रदर्शनी हुनुका साथै साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिने प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई नेपाली मौलिक खानाका प्रकार, कलासँस्कृति, भेषभुषाको बारेमा जानकारी दिने उद्देश्यले रजत महोत्सवको तेस्रो दिन कला संस्कृतिको प्रदर्शनी राखेका हौं, उहाँले भन्नुभयो ।


महोत्सवको चौंथो दिन सडक नाटक प्रदर्शन गरिनेछ । विद्यार्थीरुद्धारा तयार गरिएको करिव २० मिनेटको नाटक दुवाकोट मोड, निकोशेरा, दुवाकोट हाईट र व्यासीमा गरी चार स्थानमा प्रदर्शन गरिने प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो । नाटक बालबालिकाहरुमा मोवाईल, टेलिभिजन, इन्टरनेटले पार्ने प्रभावका बारेमा केन्द्रीत रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी पाँचौं दिन मुठी दानको कार्यक्रम हुनेछ । विद्यार्थीहरुमा सेवाभाव जगाउने र उनीहरुलाई नैतिक शिक्षाको ज्ञान दिने उद्देश्यले विद्यार्थीहरुलाई एक मुठी चामल, केही दाना आलु, प्याज जस्ता तरकारी दान दिन आग्रह गरिएको र सो संकलन गरी मानव सेवा आश्रमलाई दान गरिने गौतमले बताउनुभयो । हालसम्म करिव एक सय किलो चामल र करिव ५० किलो आलु प्याज संकलन भईसकेको जानकारी दिँदैं उहाँले शिक्षक शिक्षिका, कर्मचारीहरुले पनि मुठी दान गर्ने र विद्यालयको तर्फबाट पनि त्यसमा थप गरी ती सामग्री आश्रमलाई दिने बताउनुभयो ।
महोत्सवको छैंटौं र सातौं दिन अभिभावक दिवसको अवसरको रुपमा मनाईनेछ । जसअनुसार छैंटौं दिन कक्षा नर्सरीदेखी कक्षा ३ सम्म र सातौं दिन कक्षा ४ देखी कक्षा १० सम्मको अभिभावक दिवस मनाईनेछ ।
अभिभावक दिवसका अवसरमा सो विद्यालयबाट एसएलसी परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा हासिल गरी ईंञ्जिनयर भएका तीन जना र आईटीमा उत्कृष्ट भएका एक जना गरी चार भुतपुर्व विद्यार्थीलाई सम्मान समेत गर्ने भएको छ ।
वि. सं. २०५३ सालमा स्थापना भएको गोल्डेन सुनगाभा स्कुलमा हाल ७९६ विद्यार्थी अध्ययनरत रहेको र जसमा १२० जना छात्रवृत्तिमा अध्ययन गरिरहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । उहाँले विद्यालयले अपांगता भएका, द्धन्द्ध पिडित र यौन हिँसामा परेका अभिभावकका छोराछोरीहरु र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार दुई जना विद्यार्थीको विद्यालय पोशाक, स्टेशनरीलगायत सम्पूर्ण शुल्क निःशुल्क गरिएको छ । साथै स्थानीय टोल विकास समितिहरुको सिफारिसमा समेत छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।