अन्तर नगर पुरुष खो खो प्रतियोगिता शुरु

भक्तपुर, फागुन ५
अन्तर नगर पुरुष खो खो प्रतियोगिता शुक्रवारदेखी भक्तपुरको शहिद स्मृति खेल मैदानमा शुरु भएको छ । वि. सं. २०४६ सालको जनआन्दोलनका भक्तपुरमा शहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा भक्तपुर नगरपालिकाले सो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा विभिन्न १३ नगरपालिकाका १४ वटा टोली बीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको वडा नं. १ का वडाअध्यक्ष एवम् नगर युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्वास्थ्य र मित्रताको लागि खेलकुद आवश्यक भएको बताउनुभयो ।


उहाँले खेलमा हार जित स्वाभाविक हुने हुँदा अनुशासित ढंगले खेल्न खेलाडीहरुलाई प्रेरित गर्दै एकआपसमा सहयोगी र मित्रवत ढंगले प्रतियोगितामा भाग लिन आग्रह गर्नुभयो । अध्यक्ष बिजुक्छेँले प्रतियोगिताले खो खो खेल प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आफ्नो ज्यानको आहुति दिएका महान् शहिदहरुको बलिदानको स्मरणस्वरुप भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “खेलाडीहरु खेलमा मात्रै सिमित नरही देशको समसामयिक राजनीतिबारे ध्यान दिने, देशको सार्वभौमिकता रक्षाको लागि बोल्ने र आवश्यक परे लड्न पनि तयार हुने एक योद्धाको रुपमा विकास भएको हेर्न चाहन्छौं ।”


प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै उहाँले युवाहरुले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने देशक्तिपूर्ण भावनाको विकासको लागि यस प्रतियोगिताको मुख्य उद्देश्य भएको बताउनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशमा प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष बितिसक्दा पनि नेपाली जनताले प्रजातन्त्रको उपलब्धी खासै अनुभूति गर्न नसकेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले भक्तपुर नपाद्वारा आयोजित खो खो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलको प्रवद्र्धन हुने बताउनुभयो ।
कार्यक्रममा बिजुक्छेँले राष्ट्रिय रेफ्रि साजन दुवाललाई खेल सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने खेलाडीहरुको तर्फबाट राज कुस्मा, प्रशिक्षकको तर्फबाट कपिल भट्ट र निर्णायकको तर्फबाट साजन दुवालले प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गर्न शपथ लिनुभएको थियो ।