सूर्यविनायकको खानेपानीको समस्या समाधान गर्न सांसद थापाको पहल

भक्तपुर, फागुन ५
सूर्यविनायक नगरपालिका वडा नं. २ र ३ बालकोटलगायत नगरका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधानका लागि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पहल थाल्नुभएको छ । सांसद थापाले बिहिवार काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केएलकेयु)का प्रतिनिधि मण्डलसँग बालकोटलगायतका स्थानमा खानेपानी वितरण बारे छलफल गर्नुभएको हो ।
सो अवसरमा तत्कालको समस्या समाधानको लागि मेलम्ची र मध्यपुर थिमि बोडेको पानी ल्याउने दुई विकल्पबारे छलफल भएको थापाको सचिवालयले जनाएको छ । केयुकेएलका प्रतिनिधिहरुले मेलम्चीको पानी कटुञ्जेस्थित मेलम्ची आयोजनाले निर्माण गरेको ट्यांकीसम्म ल्याउन सकिने र त्यसपछि लिफ्टीङ गरेर बालकोटलगायतका स्थानमा वितरण गर्न सकिने सम्भावना रहेको बताएको थापाको सचिवालयले जानकारी दिए ।
केयुकेएल भक्तपुर शाखा प्रमुख चेतबहादुर ऐरले केयुकेएलले मेलम्चीको पानी कटुञ्जेसम्म सकिने जानकारी दिँदैं त्यहाँबाट कसरी वितरण गर्न सकिन्छ भन्ने बारे विस्तृत अध्ययन आवश्यक भएको बताउनुभयो । उहाँले तत्कालको लागि बोडेको पानी थिमिहुँदैं सूर्यविनायकको बालकोट क्षेत्रमा वितरण गर्न सकिने विकल्प पनि रहेको जानकारी दिनुभयो ।


सो अवसरमा सूर्यविनायकको खानेपानीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न गुण्डु र सिपाडोलमा ड्याम बनाउन सकिने बारे पनि छलफल भएको थियो ।
छलफलमा सांसद थापाले खानेपानी देीनक जीवनको आधारभुत आवश्यकता भएकाले संविधानले दिएको मौलिक अधिकारको प्रत्याभुतिका लागि पनि सूर्यविनायकका नागरिकलाई खानेपानी वितरणको प्रवन्ध मिलाउनु पर्नेमा जोड दिनुभएको थियो ।
सांसद थापाले सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकाको खानीपानीको समस्यालाई छिटो भन्दा छिटो दीर्घकालीन रुपमा समाधानका उपाय खोजेर अगाडि बढ्न केयुकेएलका प्रतिनिधिलाई निर्देशन दिँदैं त्यसका लागि आफुले पनि माथिल्लो निकायमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
छलफलमा सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित विभिन्न खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।