आशिफ र ज्ञानेन्द्रको किर्तिमानी साझेदारी र कुशलको अर्धशतक मद्दतमा नामिबिया माथि नेपालको शानदार जित

भक्तपुर, फागुन ६
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलामा लगातार तेस्रो जित निकाल्ने क्रममा पाहुना टोली नामिबियामाथि तीन विकेटको शानदार जित निकालेको छ ।
जितका लागि नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा ज्ञानेन्द्र र आशिफले व्यक्तिगत अर्धशतकका साथै दोस्रो विकेटका लागि किर्तिमानी १३९ रनको साझेदारी गरे ।
अनुभवी ज्ञानेन्द्रले ६५ ७४ बलमा ५ चौका र ३ छक्कासहित रन जोडे । ज्ञानेन्द्रको एकदिवसीय क्रिकेटमा सातौं अर्धशतक हो । युवा आशिफले सर्वाधिक ८१ रन जोड्ने क्रममा ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरे । आसिफको एकदिवसीय क्रिकेटमा यो छैंटौं अर्धशतक हो ।


कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो र लगातार दोस्रो अर्धशतक हो । कुशलले स्कटल्यान्डविरुद्ध ८१ रनको इनिङ खेलेका थिए ।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ९२ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । रोहितले ४३ बलमा ५ चौकासहित ३९ रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी ६ बलमा एक रन बनाउँदैं आउट भए । सन्दिप जोराले ७ बलमा ३ रन बनाउँदा गुल्सन झा शुन्यमा अविजित रहे भने सोमपाल कामीले ४ बलमा ८ रन बनाउँदैं अभिजित रहे । सोमपालले ४८ औं ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।


बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्बाधिक ३ तथा बर्नार्ड स्कोलाजले २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । नामिबियाका विकेटकिपर जेन ग्रीनले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहे ।
पिक्की या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा दुर्भाग्यपूर्ण रन आउट हुन पुगेका थिए । ४८ औं ओभरको पहिलो बलमा जेन ग्रीनले लागेको बल बलर सोमपाल कामीको हातमा लागेर नन स्ट्राइकमा लागेपछि रन आउट हुन पुगेका थिए ।


एक समय १३८–५ को अवस्थामा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए । नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्स ५४ बलमा ८ चौकासहित ४१ रनमा सन्दीप लामिछानेको बलमा बलमा बोल्ड आउट भएका थिए । सन्दीपकै बलमा ओपनर कार्ल ब्रिकेनस्टक २० रनमा फस्ट स्लिपमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए ।
सन्दीपले १५ औं ओभरको तेस्रो बलमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ओपनर कार्ल र ह्यान्डरेले १४.३ ओभरमा ६४ रनको साझेदारी गरेका थिए । २६ औं ओभरको अन्तिम बलमा माइकल भान लिंगेन २२ रनमा रन आउट हुन पुगेका थिए । सन्दीपले कप्तान जेरार्ड इरास्मसलाई १५ रनमा बोल्ड आउट गरेका थिए । जेन निकोल लोफ्टी करणको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर आसिफ शेखबाट १५ रनमा क्याच आउट भएका थिए ।

नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए ।


नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालले अव लिग २ मा ९ खेल खेल्न बाँकी छ । घरेलु मैदानमा ५ र युएईमा चार खेल हुनेछन् । नेपाल शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै एकदिवसीय मान्यता जोगाउन नेपालले ९ मध्ये अब ६ खेल जित्नुपर्ने हुन्छ ।
अंक तालिकामा स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।


अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।