सवारी लाइसेन्सको ट्रायलमा ७० अंक ल्याएपनि उत्तीर्ण हुने

भक्तपुर, फागुन २
बागमती प्रदेशमा सवारी चालक अनुमति (लाइसेन्स)को प्रयोगात्मक परीक्षा ट्रायलमा ७० प्रतिशत अंक ल्याएपनि उत्तीर्ण हुने भएको छ । सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम प्रयोगात्मक परीक्षामा ७० अंक ल्याउने परीक्षार्थी उतीर्ण हुने व्यवस्था लागु भएको हो ।
नयाँ व्यवस्था अनुसार लिखितमा यातायात व्यवस्था विभागले तयार गरेको ५ सय नमूना बस्तुगत प्रश्नबाट २५ प्रश्न सोधिने छ । प्रति प्रश्न ४ अंकभार रहेको यस परीक्षामा उत्तीर्ण हुन ६० अंक ल्याउनुपर्नेछ ।
लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले ट्रायलमा ७० अंक ल्याउने परीक्षार्थी उतीर्ण हुने व्यवस्था गरिएको छ । परीक्षाका क्रममा कुनै तोकिएको अवस्थामा अनुत्तीर्ण घोषणा गरिएका बाहेक न्युनतम ७० अङ्क प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुने निर्देशिकामा उल्लेख रहेको यातायात कार्यालय भक्तपुरका अधिकृत गोबिन्द सिवाकोटीले बताउनुभयो ।
ट्रायलको नयाँ व्यवस्थाको मंगलवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भक्तपुरको राधेराधेस्थित ट्रायल सेन्टरमा उद्घाटन गर्दै ट्रायल परीक्षालाई जटिलताबाट सरलतातपÞर्m लगिएको बताउनुभयो । उहाँले नयाँ निर्देशिकाले परीक्षार्थीका साथै परीक्षक कर्मचारीलाई पनि सजिलो र व्यवहारिक गराएको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनतालाई कार्यालयले दिने सेवाको आधारमा सरकारप्रति धारणा बन्ने भएकोले जनतालाई अनावश्यक दुःख सास्ती नदिन समेत यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिनुभयो । आफूले अनुगमनको संयन्त्र निर्माण गर्न लागिएको जानकारी दिँदैं उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्ड सजायको व्यवस्था हुने चेतावनी दिनुभयो ।
मुख्यमन्त्री जमरकट्टेलले आफ्नो सरकार कर्मचारी मैत्री भएको दावी गर्दै काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ताको ब्यवस्था समेत गरिएको बताउनुभयो । कुनै दवाब वा अभाव भए सोझै मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन आग्रह गर्दै उहाँले सेवामा दायाबायाँ गरेर सरकारलाई बद्नाम नगर्न चेतावनी दिनुभयो ।
प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा सञ्चालन प्रदेशभर शुरु भएको जानकारी दिनुभयो । उहाँले नयाँ व्यवस्था लागू भए संगै यसका व्यवहारिक अप्ठ्यारा थाहा हुने र निर्देशिका संशोधन गर्दै त्यसलाई सुधार्दै जान सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (लाइसेन्स)का निमित्त कार्यालय प्रमुख शिव निरौलाले नयाँ अभ्यास गर्नुपर्ने भएकोले परीक्षा परीक्षार्थी र कर्मचारी दुबैका लागि चुनौती भएको बताउनुभयो । उहाँले बिस्तारै यसमा बानी परिने र यो परीक्षा सञ्चालन प्रक्रिया सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअनुसार हुनेछ, सवारीको ट्रायलको अंक गणना