व्यवस्था परिवर्तन भएपनि खेल क्षेत्रमा परिवर्तन हुन सकेन – सांसद थापा

भक्तपुर, फागुन २
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले व्यवस्था परिवर्तन भएपनि खेल क्षेत्रमा परिवर्तन हुन नसकेको बताउनुभएको छ । सांसद थापाले भक्तपुर जिल्ला व्यापी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलवार उद्घाटन गर्दै गणतन्त्रको स्थापना सँगै विगतको विरेन्द्र शिल्डको नाम फेरेर राष्ट्रपति रनिङ शिल्डमा नामाकरण हुनु बाहेक विद्यालयको खेल क्षेत्रमा कुनै परिवर्तन हुन नसकेको बताउनुभएको हो ।
उहाँले ब्राजिलमा फुटबल खेलेरै नाम र दाम दुवै कमाउन सकिने उदाहरण प्रस्तुत गर्दै खेल क्षेत्रमा लगानी गर्न सके नेपालमा पनि क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले खेल क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघिय सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय तहमै खेल क्षेत्रमा लगानी गर्न सके भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरको आधारभुत खेलकुद प्रतियोगिता भएको चर्चा गर्दै यसको संस्थागत विकासका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन र बालबालिकाको बृत्ति विकासमा रनिङ शिल्ड एउटा प्रमुख खेल प्रतियोगिता भएको चर्चा गर्नुभयो ।


भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवाँले खेल क्षेत्रको विकासले अनुशासित र देशप्रेमी नागरिक तयार हुने बताउनुभयो । उहाँले नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भई जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुँदैं गरेका खेलाडीहरुले प्रदेश र संघिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा पनि उत्कृष्ट प्रदर्शनसँगै जिल्लाको पहिचान राख्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न विद्यालय स्तरबाटै खेलकुद प्रतियोगिता नियमित सञ्चालन हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले विद्यालयहरुले विद्यार्थीहरुको चौतर्फी बृत्ति विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत नियमित खेलकुद प्रतियोगिता गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले राज्यले खेल क्षेत्रलाई बेवास्ता गरेको गुनासो गर्दै राज्यले खेल क्षेत्रमा लगानी गरी खेल पुर्वाधारको समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रतियोगितामा जिल्लाका चार वटै पालिकामा सम्पन्न नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका एक हजार ८६ जना विद्यार्थीहरुले विभिन्न खेलका स्पर्धामा प्रतिष्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो । प्रतियोगिता फागुन ६ गतेसम्म् सञ्चालन हुनेछ ।