कुशलको कीर्तिमानी शतकसँगै नेपालको ऐतिहासिक जित

भक्तपुर, फागुन २
ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको मद्दतले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु को त्रिकोणात्मक शृंखलामा नामिविया विरुद्ध ऐतिहासिक जित निकालेको छ । नेपालको जितमा कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको ५ विकेटको योगदान समेत रहेको छ ।
किर्तिपुरस्थित टियु मैदानमा पाहुना टोली नामिवियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतीमा २ विकेटको जित निकालेको हो । नेपालको जितमा भुर्तेलले ११५ रनको योगदान दिए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे ।


एकदिवसिय क्रिकेटमा २८७ रन नेपालको अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि किर्तिपुरमै न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो । नेपालले यसअघि २०१९ मा युएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको थियो भने जुनमा अमेरिकाविरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो ।
नेपाललाई जितको लागि ३ रन आवश्यक हुँदा भुर्तेल कभरमा क्याच आउट भए । सोमपाल कामीले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।


भुर्तेलले ९९ बलमा आफ्नो पहिलो एकदिवसिय शतक पुरा गरे । भुर्तेल ओपनरको रुपमा एकदिवसियमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बने । एकदिवसियमा शतक प्रहार गर्ने उनी चौंथो खेलाडी हुन । यसअघि रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक हानेका थिए ।
खेलमा नेपालले अर्को ओपनर आसिफ शेखलाई शुन्य गुमाए । आसिफ दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए ।

भुर्तेलले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ५० रनको साझेदारी गरे । नेपालको स्कोर ५३ रन हुँदा ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहितकुमार पौडलको जोडीले नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे ।


एकदिवसियमा क्रिकेटमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र सिंह ऐरी र देव खनालले गत वर्ष कीर्तिपुरमै पपुवा न्युगिनीविरुद्ध १२९ रनको साझेदारी गरेका थिए ।
नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए । त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबियाविरुद्ध ५५ रन जोडेपछि नेपालका लागि एकदिवसियमा एक हजार रन पुरा गरेका थिए ।


त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२–५ थियो । रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो ।
छैंटौं विकेटमा लागि भुर्तेलले सन्दिप जोरासँग महत्वपूर्ण ४९ रनको साझेदारी गरेपछि नेपालको जितको नजिक पुगेको थियो । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । तर नेपाल जित नजिक पुगेका बेला भुर्तेल व्यक्तिगत ११५ रनमा आउट भए । सन्दीप लामिछाने डक आउट भए ।


नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३–३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले माइकल भान लिगेनको शतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाएको थियो । खेलको ११औं ओभरभित्रै कुल स्कोर ४५ रन हुँदा दुवै ओपनर गुमाएको नामिवियाका लागि भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे ।
भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनको एकदिवसियमा तेस्रो र नेपालविरुद्ध लिग टु मा लगातार दोस्रो शतक हो । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपालविरुद्ध १२१ रन बनाएका थिए ।


लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे । कार्ल बिर्केन्स्टोक र जान फ्रांकलिनले १३÷१३, जान निकोल लोफ्टी एटोन ८ र लो हान्ड्रे लाउरेन्स ५ रन बनाउँदा पिक्की या फ्रान्स २ रनमा आउट भए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । बलात्कारको आरोपमा जेल परेर धरौटीमा छुटेका उनी विवादका बीच यस खेलमार्फत मैदान फर्किएका हुन् । १० ओभर बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । बाँकी दुई विकेट भने ४९औं ओभरको पहिलो र अन्तिम बलमा लिएका थिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए ।