कुखुरा फार्ममा आगलागी, ९ लाखको क्षती

भक्तपुर, फागुन १
भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित जागृति चोकमा रहेको कुखुरा फार्ममा आइतवार राती आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ । प्रहरीका अनुसार स्थानीय धु्रव दाहालको जग्गा भाडामा लिई काठमाण्डौं कोटेश्वरका ४३ वर्षिया विना गुरुङले बास र प्लाष्टिकले बारी बनाएको कुखुरा फर्ममा कुखुराको चल्लालाई तापक्रमको लागी राखेको ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो ।
आगलागीबाट बोईलर कुखुराको चल्ला १८०० वटा र फार्मसहित जलेर नष्ट हुँदा करिव ९ लाख रुपैंया बराबरको क्षती भएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।
राती सवा सात बजे लागेको आगो प्रहरी निरिक्षक श्याममणि पोखरेल नेतृत्वको करिव ३० जनाको प्रहरी टोली र स्थानीयले २ वटा दमकलको सहायताले करिव पौने ८ बजे नियन्त्रणमा लिएको एसपी केसीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।