बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध व्यवसायीद्धारा आन्दोलनको घोषणा

भक्तपुर, फागुन १
नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । व्यवसायीहरुले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् ।
व्यवसायीहरुले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग राखेका छन ।
‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले भूकम्प, कोरोना महामारीलगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बताएनुभयो । बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीहरुले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उहाँको भनाई छ ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैकहरु फाइदामा र लगानीकर्ता घाटामा भएको बताउनुभयो । कोभिडदेखि यातायात व्यवसाय अस्तव्यस्त भएको उहाँको भनाइ छ । अहिले सबैको पेशा व्यवसाय बामे सरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा पारेको उहाँको आरोप छ ।
‘सुरुवातमा बैक तथा वित्तीय संस्थाबाट हामीले जतिमा बैंक ऋणीको सहमतिमा हामीले लोन लिएका हुन्छौं । सो लोन आज ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पुर्याएका छन् । यो कहाँको दादागिरी हो ? यसैका लागि सरकारलाई हामीले बुलन्द ढंगबाट अनुरोध गरिरहेका छौं । हामी अन्यायमा परेका छौं,’ उहाँले भन्नुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताउनुभयो । सझौंला र साना व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उहाँको आरोप छ ।
‘मझौला र साना खाल्का उद्यमी व्यवसायीहरु जसले बैंकको सर्पोटबाट आफ्नो उद्यम सञ्चालन गरिरहनु भएको छ । कोभिड–१९ पछाडि देशको अर्थतन्त्र धराशायी भएको छ । अर्थतन्त्र धराशयी भएको सन्दर्भमा व्यवसायीले आफ्नो व्यवसायलाई पुनर्जीवन दिन नसकिरहेको अवस्थामा बैकले एकतर्फी रुपमा विना छलफल, आवश्यकता पनि नभएको बेलामा व्याजदर बढाएको छ । जसको मारका लाखौं लाख व्यवसायी परेका छन,’उहाँले भन्नुभयो ।


ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेय साना व्यवसायी भएको उहाँको दाबी छ । कोभिडको महामारीबाट तङ्ग्रिन नपाउँदै सरकारको अदूरदर्शी नीतिका कारण व्यवसायी मारमा परेको उहाँले बताउनुभयो । आफूहरुले आठ प्रतिशतमा लिएको ऋण बैंक तथा वित्तीय संस्थाले दोब्बर बनाउँदा पनि सरकार मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
‘कसैले नियतवश बैंकलाई व्याज नतिर्ने, बैकलाई धरासायी बनाउने नियत राखे कारबाही गर्नुस् । एउटा ठूलो उद्योगले लिएको ऋणले सय वटा उद्योगलाई दिन पुग्छ । साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले कदम चाल्नैपर्छ । यस्तो कठिन अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको नाफा कयौं गुणा छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको समाजिक उत्तरदायित्व पनि हुन्छ । हामीलाई सडकमा आउने वातावरण नबनाइयोस्,’–उहाँले भन्नुभयो ।
नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई अहिलेका युवा पुस्तालाई यो देशमा गरिखाने वातावरण नभएको बताउनुभयो ।
नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु प्रेम आचार्य हुने अवस्था आएको बताउनुभयो । ‘अहिले व्यपार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरुलाई प्रेम आचार्य हुनलाई त्यति गार्हो नहोला भन्न सकिन्न । हामी सम्पूर्ण प्रेम आचार्य हुनसक्छौं । त्यो कारण बैंकको चर्को व्याज हो,’ उहाँले भन्नुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कोभिड–१९ को मारमा परेका व्यसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्को रुपामा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाउनुभयो । बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको उहाँले बताउनुभयो ।
संयुक्त पत्रकार सम्मेलनका संयोजक नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजका विरुद्धमा आगामी फागुन पाँच गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
‘हामी (फागुन ५ गते) शान्तिपूर्ण ढंगले बानेश्वरमा गएर आन्दोलन गर्छौं । यसमा देशभरका संगठनको सहभागिता हुन्छ । त्यो दिनसम्म सरकार तथा सरोकारवाला निकायले हाम्रो माग सम्बोधन नगरे हामी बैंक तथा वित्तीय संस्थासँगको कारोबार बन्द गर्छौं । नेपाल राष्ट्र बैंकले यसको ग्यारेन्टी लिनपर्छ । हामी आन्तरिक रुपमा काम गरेर बैंकहरुसँगको कारोबार बन्द गरिदिन्छौं । हाम्रो उद्योग, व्यपार व्यवसाय स्थलमा रहेको सम्पूर्ण चाबी र ताला नेपाल सरकारलाई लगेर हामी बुझाउँछौं । कही प्रेम आचार्य त बनाउन लागिएको हैन हामीलाई ?,’ उहाँले भन्नुभयो ।