छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

भक्तपुर, माघ २७
भक्तपुरमा शुक्रवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बाख्रीगाउँ र सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटी चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नगरकोटबाट तेलकोट तर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाईकल बाख्रीगाउँमा आफै अनियन्त्रित भई सडकबाट करिव २० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक काठमाण्डौ शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारी बस्ने ४० वर्षिय शंखर भोलोन तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका तामाङलाई उपचारका लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर जिसीले बताउनुभयो । मृतकको शव पोष्टमार्तमका लागि भक्तपुर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा शुक्रवार साँझ ४ बजे बनेपाबाट जगाती तर्फ आउदै गरेको बा ४ ख ८९१२ नं. को बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाँउपालिका वडा नं. ७ घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेल बस्ने ३९ वर्षिया ओम कुमारी श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिसीले बताउनुभयो । प्रहरीले दुवै सवारी साधन र बस चालक भक्तपुर नगरपालिका वडा नं. २ ईताछे बस्ने ४१ वर्षिय दयाराम देशेमरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।