विषादीको दुरुपयोग बढेको भन्दै सरोकारवालाहरुद्धारा चिन्ता व्यक्त

भक्तपुर, माघ २६
नेपालमा किटनाशक विषादीको दुरुपयोग बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । होसियारी पूर्वक खेतबारीमा किटनाशका लागि प्रयोग गर्नुपर्ने विषादी घरभित्र पनि विभिन्न प्रयोजनमा प्रयोग हुँदा यसको दुरुपयोग बढेको उनीहरुले बताएका हुन ।
बालीनालीमा विषादी प्रयोग गर्दा सुरक्षित कपडा नलगाउने, मास्क र पञ्जा नलगाउने बानीले मानव स्वास्थ्यमा गम्भिर असर देखिएको भन्दै उनीहरुले विषादी प्रयोगमा सचेतना फैलाउन आवश्यक भएको औंल्याएका छन ।
स्वास्थ्य कार्यालय भक्तपुरले बिहिवार आयोजित सरोकारवालाहरुसँगको समन्वयमा पोषण प्रवर्धन तथा विषादी न्यनीकरण सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले विषादीको न्यूनीकरणसँगै पोषणयुक्त आहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विषादी व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरका प्रमुख चुडामणी भट्टराईले स्वासप्रस्वास, छाला, आँखाबाट मानव शरीरमा विषादी प्रवेश गर्ने जानकारी दिनुभयो । उहाँले मानव शरीरमा विषादी प्रवेश गरी छालाको बोसोमा लामो समय भण्डारण भएर बस्ने भएकाले यसले बिस्तारै स्वास्थ्यमा प्रतिकुल असर पार्ने अनुसन्धानले देखाएको बताउनुभयो ।

उहाँले विषादीले सम्पर्कमा आएका सबै प्रकारका जीवलाई असर गर्ने भएकोले यसको प्रयोगमा सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विषादीको सम्पर्कमा आएपछि तत्काल रिङ्गता लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, टाउको दुख्ने, चिसो पसिना आउने, झाडा पखाला लाग्ने, विषादीको मात्रा बढी भएमा अचेत भई स्वासप्रस्वास क्रिया बन्द भई मृत्यु समेत हुने जानकारी दिनुभयो । त्यसैगरी विषादीको प्रयोगले क्यान्सर, नपुशंकता, जन्मदोष, निःसन्तान, कलेजो र मिर्गौलामा क्षती गर्ने जस्ता दिर्घकालिन असर देखा पर्दछ ।
उहाँले तरकारीमा विषादी प्रयोग गरेको कम्तीमा ७ दिनसम्म उपभोग गर्न नहुने, घरमा ल्याएका तरकारी दुई दिनपछि मात्र उपयोग गर्ने, तातो पानीले धोएर मात्र तरकारी फलफुल उपभोग गर्ने बानीले पनि विषादी मानव शरीरमा प्रवेशमा कमी आउने बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा पोषणको आवश्यकताका बारेमा प्रस्तुतीकरण गर्दै स्वास्थ्य कार्यालयमा प्रमुख कृष्ण बहादुर मिजारले धेरै रोगको कारण कुपोषण भएकाले गरिवी निवारणका लागि पनि पोषण आवश्यक भएको बताउनुभयो ।
उहाँले नेपालमा पाँच वर्षमुनिका बालबालिकाहरु मध्ये झण्डै आधा कुपोषणबाट ग्रसित भएको जानकारी दिनुभयो । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा पाँच वर्षमुनिका बालमृत्यु दर प्रति हजारमा ३३ र शिशु मृत्यु दर प्रति हजारमा २८ रहेको जानकारी दिँदैं मिजारले नेपालमा प्रोटिन शक्ति कुपोषण, आयोडिनको कमी, भिटामिन ए कमी र आइरनको कमी वा रक्तअल्पता गरी चार प्रकारका कुपोषण रहेको बताउनुभयो ।
कुपोषणले गर्दा नेपालमा २५ प्रतिशत बालबालिकाहरु उमेर अनुसारको औसत उचाई नभई पुड्कोपन देखिएको, ८ प्रतिशत बालबालिकामा ख्याउटेपन देखिएको, एक प्रतिशत बालबालिकाहरुमा औषत भन्दा बढी तौलको देखिएको मिजारले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विषादी नियमनसँगै सचेतनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिएको बताउनुभयो । उहाँले तरकारी बजारको नियमित र आकस्मिक अनुगमनसँगै विषादीको मात्रा परीक्षण गर्ने र कैफियत भेटिए सञ्चारमाध्यम मार्फत जनसमक्ष ल्याउन सके मात्र विषादीको दिर्घकालिन असरलाई न्युनीकरणसँगै पोषणयुक्त आहारमा समेट टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरोकारवाला सबैले आ–आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नसके समस्या न्युनिकरण हुँदैं जाने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले तरकारी बजारको अनुगमन गरी तरकारीमा विषादीको मात्रा परीक्षण गरी मापदण्ड विपरितका तरकारी जफत गर्ने अभियान सञ्चालन गर्न सके किसानहरु पनि विषादी प्रयोगमा सचेत हुने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र ललितपुरका नारायण कुमार श्रेष्ठले कृषकहरुले आवश्यताका आधारमा भन्दा पनि रोग रोकथाम गर्ने नाममा अनावश्यकरुपमा विषादी छर्कने गरेको पाईएको बताउनुभयो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा राम प्रकास प्रधानले आन्टीवायोटिकको अत्याधिक प्रयोगले पनि मानव स्वास्थ्यमा प्रतिकुल असर देखिएको बताउँदैं कुनै पनि समस्याको उचित जाँच, सम्बन्धीत विज्ञको सुझावमा औषधीको उपभोग गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी किसानहरुले बढी उत्पादन र मुनाफाका लागि विषादी प्रयोग गर्नुपर्ने बाध्यता भएपनि कृषि कार्यालय, विषादी बिक्रि केन्द्रलगायत सरोकारवाला निकायले दिएको तालिम, निर्देशन र सरसल्लाह बमोजिम मात्र विषादी प्रयोग गर्ने गरेको बताएका थिए भने विषादी बिक्रि गर्ने व्यवसायीले विषादी बिक्रि गर्दा प्राप्त तालिम र ज्ञानका आधारमा कृषकलाई विषादी प्रयोग गर्ने विधि, विषादी छर्कँदा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपाय र विषादी छर्केपछि उपभोग गर्ने समयका बारेमा समेत जानकारी दिने गरेको बताएका थिए ।