जबरजस्ती करणीको आरोपमा होटल सञ्चालिकासहित दुई जना पक्राउ

भक्तपुर, माघ २९
एक १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा होटल सञ्चालिकासहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–३ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने १९ वर्षिय लाक्पा ग्याल्जेन तामाङ र भक्तपुर नगरपालिका ९, ब्रह्मायणीमा खाजा घर सञ्चालिक काईंली तामाङ हुन ।
प्रहरीका अनुसार लाक्पाले गत माघ २२ गते १४ वर्षिया बालिकालाई काईंलीको खाजा घरमा रहेको कोठामा लगेर जबजस्ती गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो । बालिकाकी आमाले दिएको उजुरीको आधारमा लाक्पालाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो । लाक्पाको बयानका आधारमा प्रहरीले काईंलीलाई पक्राउ गरिएको हो । लाक्पालाई प्रहरी वृत्त जगातीका प्रहरी बरिष्ठ नायव निरिक्षक श्यामसुन्दर भ्याजुको टोलीले काठमाण्डौं कोटेश्वरबाट पक्राउ गरिएको हो ।
अनुसन्धानको क्रममा काईलीले जबरजस्ती करणीको घटनामा सहयोगी भूमिका निर्वाह गरेको पाईएको एसपी केसीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको एसपी केसीले जानकारी दिनुभयो ।