प्रथम चाँगुनारायण नगरव्यापी राष्ट्रपति रनिङ शिल्डमा श्रीकृष्ण मावि प्रथम

भक्तपुर, माघ १८
चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले जितेको छ । श्रीकृष्णले ९ स्वर्ण, ७ रजत र ३ कास्य गरी कूल १९ वटा पदकसहित प्रथम चाँगुनारायण नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले जितेको हो ।
प्रतियोगितामा पारिजात विद्याकुञ्ज दोस्रो र चाँगुनारायण मावि तेस्रो भए । पारिजात विद्याकुञ्जले ७ स्वर्ण, ४ रजत र ६ कास्य, चाँगुनारायण माविले ७ स्वर्ण, ४ रजत र ५ कास्य पदक हासिल गरेको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले बताउनुभयो ।


यसैगरी महेन्द्रगाम माविले ४ स्वर्ण, ४ रजत र ३ कास्य गरी ११ पदकका साथ चौथो स्थान हासिल गरे । पाँचौं भएको प्रज्ञा ईं स्कुलले ३ स्वर्ण, ६ रजत र ६ कास्य पदक हात पारे ।
प्रतियोगितामा विजयी खेलाडी र विद्यालयलाई नगरप्रमुख जीवन खत्रीले पुरस्कार प्रदान गर्दै नगरको युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्न खेल मार्फत युवा विद्यार्थीहरुलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने उद्देश्यले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
उहाँले आगामी दिनमा थप परिष्कृत गर्दै लगिने अन्य खेलका नगरस्तरिय, अन्तरपालिका स्तरिय र राष्ट्रिय स्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको बताउनुभयो ।