ईजी वे ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर, माघ १८
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९, राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाईसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा अर्काको नाममा ट्रायल दिएको आरोपमा मंगलवार एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–५ बस्ने २५ वर्षिय युवराज खड्काको परीक्षा दिने सोही स्थान घर भई हाल भक्तपुर दधिकोट बस्ने २३ वर्षिय देव बहादुर श्रेष्ठ हुन । प्रहरीले खड्कालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी प्रजित केसीले बताउनुभयो ।
श्रेष्ठलाई काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको पहरी सहायक हवल्दार भुपेन्द्र कार्कीले नियन्त्रणमा लिई प्रहरी नायक निरिक्षक पवित्रा कार्की नेतृत्वको टोलीले परिसरमा बुझाएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताउनुभयो ।