पारागनको वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित

भक्तपुर, माघ १७
भक्तपुरको कमलविनायकस्थित पारागन ऐकेडेमी (सेकेण्डरी बोर्डिङ स्कुल)को सोमवार आयोजित २० औ वार्षिककोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित भएका छन ।
विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्टलाई ऐकेडेमिक अवार्ड, स्पार्टस् मिटका विजयी विद्यार्थीलाई पुरस्कार, एक्टिव स्टुडेन्टस् अवार्ड, एसईई २०७६, ०७७ र ०७८ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्ष विद्यार्थी सम्मानबाट विद्यार्थीहरु एलिसा गणेजू, श्रयण तामाङ र सुजाता लामालाई सम्मान गरिएको थियो । वर्ष अभिभावकबाट अभिभावकहरु क्रमशः रमेश घिमिरे, श्रावती अमात्य, अनिल ज्याख्व, सिर्जना फोजूँ, रिकेश कार्की र तुलसा केसी सम्मानित हुनुभयो ।
सोही अवसरमा वर्ष शिक्षकबाट रामेश्वरी शिल्पकार, सुनिता अवाल र सरिता गैंडा सम्मानित हुनुभयो भने निरन्तर सेवा पदकबाट विद्यालयमा ५ वर्ष निरन्तर रुपमा अध्यापन गराइरहेका शिक्षकहरु रुषा तुल्सीबाख्यो, सरिता प्रजापति, सर्मिला छुस्याबाग, सपना प्रजापति, सरिता गैंडा र नानीमैंया श्रेष्ठ सम्मानित भएका छन् । विद्यालयमा १५ वर्ष अध्यापन गराएका शिक्षकद्वय राजेन्द्र फोजुँ र शर्मिला अवाललाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।


कार्यक्रममा उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गर्दै बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले अहिलेको शिक्षाले समाजमा विभिन्न खाले समस्या उत्पन्न गराइरहेको बताउनुभयो । उहाँले शासक दलहरुले देशको माटो, भूगोल सुहाउँदो शिक्षा नीति अवलम्बन नगर्दा देशका कर्णाधार मानिएका विद्यार्थीहरुमा देशको भन्दा विदेशको मोह बढेको बताउनुभयो ।
उहाँले स्वदेशमै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउनु पर्नेमा पढ्नका लागि समेत विदेश जानुपर्ने बाध्यता आउनु विडम्पनापूर्ण भएको उल्लेख गर्दै दैनिक हजारौं युवा तथा विद्यार्थीहरु विदेश जानुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले विद्यार्थीलाई पैसामुखी र व्यक्तिवादी नभई समाजमुखी र सेवा भावले काम गर्ने बनाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडा सदस्य कृष्णनारायण दुमरुले विद्यालयले विद्यार्थीलाई अनुशासित र योग्य नागरिक तयार गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय प्रतिनीधि विक्रम धुकुछु, यूएसडिएफ भक्तपुरका अध्यक्ष श्रीराम सुवाल, आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसीले विद्यार्थीहरुमा आइरहेको विभिन्न परिवर्तनलाई शिक्षकहरुले बुझेर सोही अनुसार अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै इसिडी मन्टेश्वरी विज्ञद्वय रिता घिमिरे र रिता आचार्यले बालबालिकाका तथा विद्यार्थीहरुमा आउने विभिन्न मानसिक तथा संवेगात्मक परिवर्तनलाई शिक्षकले मात्र नभई अभिभावकले पनि बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँहरुले विद्यालयहरुमा अभिभावक शिक्षाको जरुरी बढ्दै गएकाले अभिभावक शिक्षालाई छुटाउन नुहनेमा जोड दिनुभयो ।
विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल ९ सय ८८ विद्यार्थी अध्ययन गरिरहेको र ७० जना शिक्षक अध्यापनरत रहेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापत्विमा सम्पन्न सो कार्यक्रममा अभिभावक प्रतिनीधि तुलसा केसी, विद्यार्थीको तर्फबाट जस्मिन गोरा, शिक्षकको तर्फबाट शर्मिला अवाल र शिक्षक सागर पराजुलीले विद्यालयबारे धारणा राख्नुभएको थियो ।