भक्तपुरका उत्कृष्ट २४ प्रहरी पुरस्कृत, ७ जनालाई कारवाही

भक्तपुर, माघ १६
भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जनालाई नगदसहित पुरस्कृत भएका छन भने ७ जनालाई अनुशासनको कारवाही गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले परिसरका प्रहरी नायव उपरिक्षक राजु पाण्डेसहित १३ जना, प्रहरी वृत्त थिमिका प्रहरी निरिक्षकसहित ५ र प्रहरी वृत्त जगातीका प्रहरी नायव निरिक्षकसहित ६ जनालाई पुरस्कृत गरिएको हो ।
परिसरले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दार एवम् बफादार कर्तव्यनिष्ट भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याँईकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसंग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागू औषध नियन्त्रण एवं पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको परिसरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
त्यसैगरी चालु आर्थिक वर्ष प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरवाही गर्ने, आफुखुशी कार्यालय छोडी अनुपस्थित रहने ७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारवाही गरिएको एसपी केसीले जानकारी दिनुभयो ।
प्रहरी प्रशासनको कार्य उत्कृष्ट बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्ने तर्फ उत्प्रेरित गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरु र प्रभागहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले बताउनुभयो ।