मध्यपुर थिमिमा व्यवसाय दर्ता अभियान शुरु

भक्तपुर, माघ १६
मध्यपुर थिमि नगरपालिकाले व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरभित्र दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने र दर्ता गरेकाले पनि लामो समय नविकरण नगर्ने प्रवृत्ति देखिएकाले नगरभित्र सञ्चालित व्यवसायलाई नियमन गर्न दर्ता अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ ।
अभियानको क्रममा व्यवसाय दर्ता गर्दा आर्थिक वर्ष २०७४÷०७५ भन्दा अघिको सम्पूर्ण व्यवसाय कर छुट दिने र आर्थिक वर्ष २०७४÷०७५ देखी २०७८÷०७९ सम्मको सम्पूर्ण जरिवाना छुट दिईने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


अभियान आइतवार नगरको व्यवसायिक क्षेत्र राधेराधेबाट शुरु गरिएको छ । अभियान नगरका ९ वटै वडामा वडा कार्यालयमार्फत सञ्चालन हुनेछ ।
नगरको आन्तरिक आम्दानीको प्रमुख स्रोत मध्येको एक व्यवसाय करलाई नियमित गर्न र नगरको आन्तरिक आम्दानी बृद्धि गर्न अभियान सञ्चालन गरेको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।