भक्तपुर प्रहरीको सफल अनुसन्धान, हत्याको १७ वर्षपछि आरोपी पक्राउ

भक्तपुर, माघ १५
भक्तपुरको एक ईंटाभट्टामा भएको हत्याका घटनाका आरोपी १७ वर्ष पछि पक्राउ परेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित गणेश ईट्टाभट्टा नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक बालुवापाटी गा.बि.स.वडा नं. १ हाल परिवर्तित मण्डनदेउपुर नगरपालिका वडा नं. १ स्थाई घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने ४१ वर्षिय बहादुर तामाङ हुन । कान्छाराम तत्काल गणेश भट्टामा पानी पाले र बहादुर सोही भट्टाकै गाडि चलाउने चालकको काम गर्देथे ।
घटना विवरण अनुसार २०६२ माघ ३० गते बिहान तत्कालिन ताथली गाविस ८ स्थित गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा ४१ वर्षिय कृष्ण योगी रगत पक्ष भई अचेत अवस्थामा फेला परेको र उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा थप उपचारका लागि बीर अस्पतालमा रिफर गरियो । उपचारकै क्रममा योगीको बीर अस्पतालमा मृत्यु भएको थियो ।
सो घटनामा प्रहरीले घटनास्थलबाट ८ ईन्च लम्बाई भएको चक्कु एक थान र ५ फिट ८ ईन्च लम्बाई ४.१ इन्च गोलाइ भएको बाँसको लौरो फुटेको अवस्थामा फेला पारेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक कृष्ण योगीलाई सोही गणेश भट्टाका काम गर्ने सुकमान तामाङ, बहादुर तामाङ र देवेन्द्र भन्ने देव थापाले कुटपिट गरी हत्या गरी घटना पश्चात फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा घटनास्थल नजिकै रहेको गणेश ईटाभट्टामा चिया पसल संचालन गरी बस्ने पंकल लक्ष्मी लाखाले २०६२ माघ २९ गते राती करिव ८ः३० बजे मृतक योगी र ईश्वर बस्ने रक्सीले मातेर आफ्नो पसलमा आइ रक्सी माग्न आएको र नखानुहोस भन्दा पनि जिद्धि गरी एक एक गिलास रक्सी खाएर जाने क्रममा सोही ईंटाभट्टामा काम गर्ने पानी पाले काम गर्ने सुकमान तामाङ र सोही भट्टाकै बा.१ ख. ५०९५ मिनीटाटा ड्राईभर तथा बा.१ ख. ७०७६ नम्बरको गाडिका खलासी देबेन्द्र भन्ने देब थापा समेत तिनजना उक्त स्थानमा आएर भनाभन गरेकाले झगडा नगर्नुहोस् भनि गाली गरी पठाएको जानकारी दिएको एसपी केसीले बताउनुभयो ।
भनाभन भएको भोली पल्ट बिहानै योगी अचेत अवस्थामा फेला पर्नु र घटनापछि आरोपी तीनै जना फरार हुनुले घटनामा उनीहरु तीन जनाको संलग्न भएको हुन सक्ने आशंका बढेको थियो । तर तीनै जनाको ठेगाना एकिन नभएकोले प्रहरीले पक्राउ गर्न सकेको थियो ।
सो सम्बन्धमा परिसरका प्रहरी निरिक्षक सुन्दर चौलागाईले थप अनुसन्धान गर्ने क्रममा मृतक योगीलाई कुटपिट गर्नेहरु तीनै जना काभ्रेपलाञ्चोकको साविक बालुवापाटी गा.बि.स.वडा नं. १ हाल परिवर्तित मण्डनदेउपुर नगरपालिका वडा नं. १ स्थाई घर भएका सुकमान भन्ने कान्छाराम तामाङ, ४१ को बहादुर तामाङ र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर लामिडाडा घर हुने देबेन्द्र भन्ने देव थापा रहेको खुल्न आएको एसपी केसीले बताउनुभयो ।
घटनामा संलग्नको एकिन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले घटनाको १७ वर्ष पछि पक्राउ गर्न सफल भएको हो ।
घटनामा मृत्यु भएका योगीमा भान्जा ईश्वर बस्नेतको किटानी जाहेरीले थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।