भक्तपुरमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ० दशमलव ०२ जना

भक्तपुर, माघ १५
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आइतवार भक्तपुरका पनि ७० औं विश्व कुष्ठरोग दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।
सो अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले अन्तरक्रिया कार्यक्रममाफर्त जिल्लामा कुष्ठरोगको विद्यमान अवस्था, समस्या र चुनौतीका बारेमा सरोकारवालाहरुसँग छलफल ग¥यो ।
कार्यक्रममा भक्तपुरमा ३ जना कुष्ठरोगीहरु नियमित उपचारमा रहेको जानकारी दिँदैं स्वास्थ्य कार्यालयका कुष्ठरोग फोकल पर्सन भोला पौडेलले ती तीनै जना जिल्ला बाहिरका स्थायी बासिन्दा भएको बताउनुभयो ।
उहाँले समाजमा अझै पनि कुष्ठरोगका बारेमा अन्धविश्वासी धारणा रहेकोले सामाजिक विभेदको डरले कुष्ठरोगी सार्वजनिकरुपमा खुल्न नसकेको बताउनुभयो । सामाजिक विभेदको डर कै कारण भक्तपुरका कुष्ठरोगीहरु आनन्द वन लगायतका उपचार केन्द्रबाट नियमित औषधी सेवन गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुरमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ० दशमलव ०२ जना रहेको र पत्ता लागेका नयाँ बिरामीको दर प्रति एक लाख जनसंख्यामा ० दशमलव ४६ जना रहेको जानकारी दिनुभयो ।
भक्तपुरमा कुष्ठरोगको रोकथामका लागि सक्रिय बिरामीको खोजी गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कुष्ठरोगबाट हुने अपांगता रोकथामलगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदैं सेवाप्रदायकको क्षमता अभिबृद्धि, बहु औषधी व्यवस्थापनलगायतका कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालका प्रमुख डा. रत्नसुन्दर लासिवाले भक्तपुरका कुष्ठरोगीहरुले जिल्ला बाहिर कहाँ, कसरी उपचार गरिरहेको छ त्यसको विस्तृत विवरणसहितको तथ्यांक स्वास्थ्य कार्यालयले राख्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा अझै पनि जनचेतनाको अभावमा कुष्ठरोग, क्षयरोगजस्ता बिरामीहरु लुकेर बस्ने गरेको बताउँदैं अझै पनि सामाजिक चेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
उहाँले स्वास्थ्य अन्य कार्यक्रमसँगै कुष्ठरोगका बारेमा प्रचार प्रसार गर्ने, स्थानीय तहले छालाजन्य स्वास्थ्य शिविर सञ्चालन गरी कुष्ठरोगका बिरामीको खोजी गर्ने र कुष्ठरोग कुनै पाप नभई यो पनि अन्य रोग जस्तै एउटा रोग भएको र उपचार गरे निको हुने सन्देश नियमितरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले सबै तहमा कुष्ठरोग निगरानी प्रणाली र नियमित अनुगमन, सुपरिवेक्षण र आवधिक मूल्याङ्कनलाई सुदृढ गर्दै लैजाने बताउँदैं स्थानीय तहले पनि कुष्ठरोगीको तथ्यांक अद्यावधिक राख्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले नेपालमा अझै पनि कुष्ठरोगका कारण हुने अपांगता दल उच्च रहेको, केही स्थानीय तहमा यसको प्रकोप दर उच्च रहेको, कुष्ठरोग प्रति सामाजिक भेदभाव विद्यमान रहेको, मुलुकी देवानी संहिता २०७४ मा समेत कुष्ठरोगका बारेमा विभेदपूर्ण व्यवस्था रहेको जानकारी दिँदैं त्यस्ता समस्या समाधानमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।