मिनकुमारी राणा प्रतिष्ठानद्धारा चार व्यक्तित्व सम्मानीत

भक्तपुर, माघ ९
मिनकुमारी राणा प्रतिष्ठान बालकोटले आइतवार नेपालमा प्रजातन्त्र स्थापनामा अतुलनीय योगदान गरेका वरिष्ठ पत्रकार, साहित्यकार तथा नेपालमा बक्सिङ खेलको विकासमा उल्लेख्य योगदान गर्नुहुने व्यक्तित्वहरुलाई नगद सहित सम्मान गर्नुका साथै दुई विद्यालयलाई छात्रबृत्ति कोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।
वरिष्ठ पत्रकार कविर राणा र बक्सिङका पुर्व खेलाडी रवि राणाकी माता स्व. मिनकुमारी राणाको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले वरिष्ठ पत्रकारद्धय हरिहर विरही, माथवरसिंह बस्नेत, साहित्यकार धुव्रचन्द्र गोतामे र बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङ्गलाई नगद जनही ५१ हजारसहित ताम्रपत्रद्धारा सम्मान गरिएको हो । साथै डिएमपिएसले परिचित आदर्श माध्यामिक विद्यालय सानो थिमि र स्व. मिनकुमारी राणाले शिक्षा हासिल गरेको बेंकटेश्वर गुरुकुल विद्यालयमा छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनाका लागि ५१÷५१ हजार रुपैंया सहयोग प्रदान गरेको हो ।


सो अवसरमा सम्मान प्रदान गर्दै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा धेरे क्रान्ति भएपनि देशले अझै राजनीतिक स्थिरता पाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशको विकास र आर्थिक समृद्धि हासिल गर्न राजनीतिक स्थिरता आवश्यक रहेको औंल्याउनुभयो ।
“नेपालमा २००७ साल २०१७ साल र त्यस पछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकेको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन,” उहाँले भन्नुभयो ।


उहाँले असल छोराहरुले मात्रै आफ्ना बाबुआमालाई सधै जीवन्त राख्ने र सम्झने गरि कार्यक्रम गर्ने बताउदै स्व.राणाका छोराहरुले असल चरित्र प्रस्तुत गरी आमालाई चीर कालसम्म जीवन्त राख्ने कार्य गरेको बताउनुभयो ।
सम्मानित व्यक्तित्व विरहीले मुलुकको लोकतन्त्र फेरी पनि खतरामा रहेको बताउँदैं सम्मानले लोकतन्त्रको संस्थागत विकासमा थप सक्रिय हुने प्रेरणा मिलेको बताउनुभयो ।
अर्का व्यक्तित्व सहित्यकार गौतमले तत्कालिन अवस्थामा साहित्य र पत्रकारिताको महत्व तथा त्यसबेला लेखिने रचनाले तत्कालिन सत्तामा ल्याउने हलचलका विषयमा चर्चा गर्नुभयो ।


अर्का सम्मानित व्यक्तित्व बस्नेतले प्रजातन्त्र प्राप्तीका लागि ज्यानको परवाह नगरी आन्दोलनमा होमिएको स्मरण गर्दै प्रजातन्त्र प्राप्ती पछि व्यक्तिगत स्वार्थ अनुकुलका फाईदा खोज्नु र सो अनुरुप प्राप्ती नहुँदा प्रजातन्त्र सेनानीहरुमा केही असन्तुष्टि पैदा गरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आमाको नाममा प्रतिष्ठान स्थापना गरेर राणा परिवारले आमालाई सदाकाल जीवन्त राख्ने कार्य गरेको बताउनुभयो । उहाँले सम्मानीत व्यक्तित्वहरुले प्रजातन्त्र स्थापनामा गरेको योगदानले अहिलेको पुस्तालाई राजनीतिमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।


कांग्रेसका अर्का नेता एवम् सांसद तथा उद्योगपति विनोद चौधरीले सम्मानीत व्यक्तित्वहरुले प्रजातन्त्र स्थापनामा गरेको योगदानको चर्चा गर्दै पछिल्लो समय राष्ट्रपतिकै भूमिकाका कारण सो संस्थाप्रति नकारात्मक टिका टिप्पणी हुन थालेको बताउनुभयो ।
कांग्रेस नेता एवम् पूर्व सांसद लेखनाथ न्यौपानेले राणा परिवारले प्रजातन्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।


कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कविर राणा र महासचिव रवि राणाले प्रतिष्ठानको उद्देश्य माथि चर्चा गर्दै जुनसुकै परिस्थितीमा पनि मातापितालाई सम्झेर उहाँहरुले दिएको मार्ग निर्देशनलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा आगामी दिनमा थप सामाजिक कार्य गर्दै जाने विश्वास समेत दिलाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि जग्गा प्राप्तीलगायतका कार्य गर्न एक लाख ५ हजार रुपैंया सहयोग गर्ने घोषणा समेत गरिएको थियो ।