विकास निर्माणमा स्थानीय जनप्रतिनिधिहरु प्रत्यक्षरुपमा जोडिनुपर्छ – सांसद थापा

भक्तपुर, माघ ८
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विकास निर्माणका योजना सञ्चालनमा स्थानीय सरकार जनप्रतिनिधिहरु प्रत्यक्षरुपमा जोडिनुपर्नेमा जोड दिनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले आइतवार आयोजित बधाई तथा सम्मान कार्यक्रममा सांसद थापाले सांसदहरु राज्यको नीति निर्माणका कार्यमा सक्रिय हुनुपर्ने र स्थानीय स्तरका विकास निर्माणको जिम्मा स्थानीय तहका जनप्रतिनिधिहरुले लिनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले मुलुकमा दुई दुई पटक संविधान सभाको निर्वाचन भएपनि तत्कालिन अवस्थामा स्थानीय निकायको निर्वाचन नहुँदा केही समय संविधान सभाका सभासदहरु विकास निर्माणका योजनामा प्रत्यक्षरुपमा जोडिएपनि अहिलेको अवस्थामा प्रदेश सभा र प्रतिनिधि सभाका सदस्यहरु विकास निर्माणका कार्यमा प्रत्यक्ष जोडिनु आवश्यक नभएको बताउनुभयो ।


“सांसदका काम विकास निर्माण गर्दै हिँड्ने र रिवन काट्दै हिँड्ने होइन । सांसदहरुले कसरी जनताले सहज र सरलरुपमा राज्यका सेवा सुविधा उपभोग गर्न सकुन भन्ने विषयमा चिन्तन गरी सोही अनुरुप नीति निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले सांसद आपैंmमा सबै विषयको विज्ञ नभएको टिप्पणी गर्दै निर्वाचनका बेला एउटा र निर्वाचन जितेपछि अर्को कुरा गर्ने परिपाटीले जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको बताउनुभयो ।


उहाँले पार्टीले टिकट दिएर उम्मेदवार बनेपनि, पार्टीको चुनाव चिन्हमा निर्वाचन जितेपनि निर्वाचित भइसकेपछि उ जनताको प्रतिनिधि हुने बताउँदैं जनप्रतिनिधि भइसकेपछि कुनै भेदभाव नगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध मध्यपुर थिमि निर्माणमा यहाँका सबै जनप्रतिनिधि एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेश भक्तपुर क्षेत्र नं. २ (ख)का सदस्य प्रा. डा. राजेन्द्रमान श्रेष्ठले मध्यपुर थिमिको विकासमा यहाँका स्थानीय तह र अरु बागमती प्रदेशसभा सदस्यहरुसँग छलफल र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले प्रदेश वा संघिय सरकारबाट विकास निर्माणका योजना र बजेट ल्याउन त्यस्ता योजनाको लागि बजेट माग गर्नुभन्दा पहिले नै योजनाको बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिनुभयो ।


“हामीले विकास निर्माणका योजनाको चेक तयारी अवस्थामा राख्नुपर्छ । प्रदेश र संघिय सरकारले मागेको बखत चेक काटेर दिए जस्तो योजनाको माग निवेदन पेश गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आगामी पाँच वर्ष नगरपालिकाले बागमती प्रदेश र प्रतिनिधि सभा सदस्यहरुसँग सहकार्य गरी कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।


उहाँले नगरपालिकाले पहिलो पटक हिउँदे अधिवेशन गरी नगरसभाको बैठक सम्पन्न गरेको बताउँदैं नगरसभाले निर्वाचनमा जनता समक्ष गरेको वाचा अनुरुप घर नक्साको नियमित गर्ने, भूउपयोग नीति अनुरुप विगतमा घर निर्माण गर्न रोक्का राखेको स्थानमा नक्सा पास खुलाउन त्यसलाई आवसिय क्षेत्रको रुपमा विकास गरेको जानकारी दिनुभयो ।


कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमिले पहिलो पटक बागमती प्रदेश सभामा ४ जना, भक्तपुर क्षेत्र नं. २ ले प्रतिनिधि सभामा ३ जना सदस्य पाएकोमा गर्व लागेको बताउँदैं प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले मध्यपुर थिमिको विकासमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने अपेक्षा राख्नुभयो ।


सो अवसरमा मध्यपुर थिमि नगरपालिकाले भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरु दुर्लभ थापा, रमा कोइराला पौडेल, सन्तोष परियार, बागमती प्रदेश सभामा भक्तपुर क्षेत्र नं. २ (ख) बाट प्रतिनिधित्व गर्नुहुने सांसदहरु प्रा. डा. राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभण्डारी, भुवनकेशरी (भावना) श्रेष्ठ र धनेश्वरी प्रजापतिलाई सम्मान गरिएको थियो ।