‘ज्येष्ठ नागरिक चिकित्सा तथा आयुबृद्धि’ विषयक प्रवचन

भक्तपुर, माघ ८
नारायण विलास ज्येष्ठ नागरिक स्वास्थ्य सचेतना केन्द्रले आइतवार ‘ज्येष्ठ नागरिक चिकित्सा तथा आयुबृद्धि’ विषयक प्रवचन प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई दैनिक जीवन सक्रिय बनाउने र उनीहरुको उमेर अनुसारको खानपानसहितको क्रियाकलाप गर्न अभिप्रेरित गर्ने उद्देश्यले सो प्रवचन आयोजना गरिएको हो ।
कार्यक्रममा प्रा. डा. ज्ञानकृष्ण कायष्थले प्रवचन दिँदैं ज्येष्ठ नागरिकहरुलाई घर वा कोठामा सिमित नराखी दैनिक जीवनमा सक्रिय बनाई राख्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई निष्कृय बनाई एकै स्थानमा राखी राख्दा छिटो रोगले आक्रमण गर्न सक्ने बताउँदैं शारीरिकरुपमा गर्नुपर्ने कार्य गर्न नसकेपनि भजनकिर्तन, पुस्तकहरुको अध्ययनमा सक्रिय बनाईराख्नु पर्नेमा जोड दिनुभयो ।


उहाँले ज्येष्ठ नागरिकहरुले खानपानमा समेत विशेष ध्यान पुर्याउनुपर्ने सुझाव दिनुभयो । बढी कोल्डस्ट्रोल भएका रातो मासुजन्य खाना भोजन नगर्न सुझाव दिँदैं उहाँले हरियो सागपात, फलफुल, ओखर जस्ता पोषणयुक्त खानेकुरा भोजन गर्नुपर्ने बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकहरुलाई विशेष गरी मुटुजन्य रोगले बढी सताउने गरेको उल्लेख गर्दै त्यस्ता रोगबाट बच्न शारीरिक व्यायमका साथै रहनसहन र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रा. डा. राजेन्द्रमान श्रेष्ठले ज्येष्ठ नागरिकहरुको दैनिकी निष्कृय हुँदैं जाँदा बुढ्यौलीमा अनेक स्वास्थ्य समस्या आइरहेको अवस्थामा ज्येष्ठ नागरिकहरुलाई सक्रिय बनाउन उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयको समाजिक सेवा महाशाखा प्रमुख चन्द्रकला व्यञ्जनकार, स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार, ज्येष्ठ नागरिकहरुको बृद्धाश्रम सञ्चालक, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु, ज्येष्ठ नागरिक हेरचाह गर्ने स्वयम् सेविकाहरु, स्थानीय ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।