थाईल्याण्डमा बक्सिङ्गका सुस्माको ऐतिहासिक जित

भक्तपुर, माघ ९
थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु–२२ मेन्स एण्ड वुमेन्स बक्सिङ्ग प्रतियोगिताको महिलातर्पm ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङले ऐतिहासिक जित निकाल्दै फाइनल यात्रा तय गरेका छन ।
प्रतियोगिताको आइतवार सम्पन्न सेमिफाइनलमा सुस्माले मंगोलियाका बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाललाई बक्सिङ्गमा ऐतिहासिक सफलता दिलाएका हुन ।


फाइनलमा सुस्माले उपाधीका लागि उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासँग प्रतिष्पर्धा गर्नेछन । अर्को सेमिफाइनलमा उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५–० को अंकको आधारमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
सुस्माको यो सफलता नेपाल बक्सिङ्ग संघको स्थापनादेखि हालसम्मकै सबैभन्दा उच्च हो । यस अघि नेपाल एशियनस्तरमा कास्य पदकमा सिमित रहेको थियो ।


सुस्माले यसअघि २०२१मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ वुमेन्स बक्सिङ्ग च्याम्पियनशिपमा लिथुवानीयाका खेलाडीलाई पराजित गरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठो स्थानमा पुग्न सफल भएका थिए ।
यसैगरी वुमेन्स फेदर वैट ५७ किलो तौल समुहमा नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५–० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित भएका छन । यसअघि हेमाले सिंगापुरका खेलाडीलाई ५–० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गरेका थिए ।