राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता

भक्तपुर, माघ ८
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिवार कमलविनायकमा भेटवार्ता भएको छ । चाँगुनारायणको दर्शनका लागि भक्तपुर आउनुभएका राष्ट्रपति भण्डारीले कमलविनायकस्थित बिजुक्छें निवास पुगेर बिजुक्छेंसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा आपसी पारिवारिक, कृषि, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका विषयमा छलफल भएको नेमकिपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो ।


गोसाईंका अनुसार भेटको शुरुमा राष्ट्रपति भण्डारीले बिजुक्छें पत्नी शोभालाई श्रद्धाञ्जली दिनुभयो र बिजुक्छेंको स्वास्थ्यका बारेमा चासो राख्नुभयो । गत असारमा बिजुक्छें पत्नी शोभाको क्यान्सरका कारण मृत्यु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले असारमा आउन खोज्दा विविध कारणले आउन नसकेको जानकारी गराउनुभएको गोसाईंले जानकारी दिनुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले नेपाली नागरिक कोही पनि औषधिको अभावले ज्यान गुमाउन नपर्ने अवस्थाको लागि राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो । “औषधिको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् । नेपालमा विदेशबाट ल्याउनुपर्ने औषधि नपाएर पनि मानिसको ज्यान गइरहेको छ, त्यतातर्फ सरकारको ध्यान गइरहेको छैन,” बिजुक्छेँका भनाइ उद्धृत गर्दै गोसाईंले भन्नुभयो, “यो क्षेत्रमा काम गर्नु आवश्यक छ भनेर अध्यक्षज्यूले राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराउनुभयो ।” नेपालमै औषधि उत्पादनमा जोड दिनुपर्ने र औषधि विभागलाई संवदनशील बनाउनुपर्ने कुरा पनि राखेको गोसाईंले बताउनुभयो ।


उहाँका अनुसार राष्ट्रपति भण्डारीले कोरोना महामारीका बेलामा आफूले स्वास्थ्य क्षेत्र सुधारमा कोशिस गरेकोबारे पनि कुरा राख्नुभएको थियो । “कोभिडमा पनि केही गरौं भनेर कोशिस गरेको र केही कमीकमजोरीका कारण खोप उपलब्ध गर्न कठिन भएको कुरा राख्नुभयो,” राष्ट्रपति भण्डारीका भनाइ उद्धृत गर्दै गोसाईंले भन्नुभयो ।

भेटमा स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा आफ्नो विशेष रूचि भएको बताउँदैं अध्यक्ष बिजुक्छेँले ३० वर्षदेखि किसानले समयमा रासायनिक मल पाउन नसकेको र नेपालमा मल उत्पादनको विषयमा कुरा राख्दा पनि सरकारले नसुनेको गुनासो राष्ट्रपति समक्ष राख्नुभएको थियो ।
सोही सन्दर्भमा बिजुक्छेँले भक्तपुर दरबार स्क्वायरको पेन्टिङ देखाएर अहिले पनि त्यहाँ टेको लगाइरहेकोबारे राष्ट्रपति भण्डारीलाई अवगत गराउनुभयो । अध्यक्ष बिजुक्छेंले विदेशी दाताले एक अर्ब भन्दा बढी रकम दिन्छु भन्दा पनि नगरपालिकाले त्यसलाई अस्विकार गरी स्वदेशी पुँजी र स्वदेशी सिप उपयोग हुनुपर्ने आफुहरुको जोड रहेको राष्ट्रपति भण्डारी समक्ष राख्नुभयो ।


भेटको अन्तिममा राष्ट्रपति भण्डारीले बिजुक्छेंलाई भेटेर माईती आएको अनुभुती भएको प्रतिक्रिया दिएको गोसाईंले बताउनुभयो । “अध्यक्ष बिजुक्छें वरिष्ठ राजनीतिज्ञ, नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवी, राजनीतिक नैतिकता, इमानदारी, वाम चिन्तक भएकाले भेटको अन्तमा एकदमै खुसी भएर राष्ट्रपति भण्डारीले माइती आएजस्तै अनुभुती भएको बताउनुभयो,” गोसाईंले भन्नुभयो ।
अपराह्न ४ बजे बिजुक्छें निवास पुग्नुभएका राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच करिव ४५ मिनेट छलफल भएको थियो ।

तस्वीर, सुरेन्द्रराज गोसाईं