राष्ट्रपति भण्डारीद्धारा चाँगुनारायणको दर्शन

भक्तपुर, माघ ७
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार चाँगुनारायणको पुजाअर्चना गरी दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले चाँगुनारायण मन्दिर परिसरमा अवस्थित किलेश्वर महादेव र छिन्नमस्ता देवीको समेत पुजाअर्चना गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो ।
दर्शनपछि राष्ट्रपति भण्डारीले चाँगुनारायणको मुद मन्दिर, त्यस परिसरमा रहेका विभिन्न सम्पदाहरुको अवलोकन समेत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा समेत राख्नुभएको थियो । उहाँले २०७२ को भूकम्पले भत्किएको मन्दिरको जीर्णोद्धारको अवस्थाका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो । उहाँले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित सङ्ग्रहालयको समेत अवलोन गर्नुभयो ।


राष्ट्रपति भण्डारीको जिज्ञासाको जवाफ दिँदैं पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले चाँगुनारायणको धार्मिक, ऐतिहासिक र परम्परागत पुजा विधि, चाँगुनारायण परिसरमा भईरहेको जिर्णोद्धार र पुनःनिर्माणका बारेमा जानकारी गराउनुभएको थियो ।
दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो । मन्दिरको मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले राष्ट्रपति भण्डारीलाई टीका, फूल प्रसाद प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख हीरामणि सुवेदीलगायतले स्वागत गर्नुभएको थियो ।