एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

भक्तपुर, माघ ६
हत्या आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले शुक्रवार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहले यसअघि दिएको पटक पटकको मौखिक आदेशको पालना नभएको भन्दै लिखित आदेश दिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं कोइरीलाई तत्काल पक्राउ गरी कारवाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,’ पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोइरी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।
प्रहरीले उनलाई पक्राउ नगरी फरार सुचीमा राखेको छ । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए ।
प्रतिनिधि सभाको सभामुखको निर्वाचनका क्रममा पनि बिहिवार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निक्र्यौल गर्न माग गर्नुभएको थियो ।