प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी

भक्तपुर, माघ १
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार नेमकिपाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेताको दावी गरेको हो ।
सो ऐनको दफा २ (ङ) ४ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल विपक्षी दल हुन नसक्ने स्पष्ट व्यवस्था रहेकोले सोही अनुसार आफुहरुले प्रतिनिधि सभाको प्रमुख विपक्षी दल र नेताको दावी गरेको सांसद प्रेम सुवालले बताउनुभयो ।
प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको कुनै पनि दल विपक्षमा नभए प्रतिनिधि सभामा सभामुखले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको दल प्रमुख प्रतिपक्षी दल हुने व्यवस्था सो ऐनमा छ ।
प्रतिनिधि सभामा रहेका १२ दल मध्ये पहिलो देखी दशौं स्थानसम्मको दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएकोले प्रमुख प्रतिपक्षी दल र नेताको दावी गरेको हो । “ऐन अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो,” सुवालले भन्नुभयो, “कानुन बनाउने थलो संसदले नियम मिच्दैन ।”
गत मंसिर ४ गते सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै प्रधानमन्त्री प्रचण्ण्डलाई विश्वासको मत दिएका थिएनन् । विश्वासको मत नदिएका दुबै दलसँग प्रतिनिधिसभामा एक÷एक सांसद छन् । निर्वाचनमा समानुपातिकतर्फ नेमकिपाले ७५ हजार १६८ मत पाएको थियो भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको थियो । समानुपातिकतर्फ मत पाएको दृष्टिमा नेमकिपा ११ औं ठूलो दल भएको र १० वटा दलले सरकारलाई समर्थन गरेकाले आफूहरुले नै प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको दावी छ ।