विमान दुर्घटनामा पत्रकार पौडेलको मृत्यु, महासंघले १३ दिन शोक मनाउने

भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान भएको यति एअर लाईन्सको विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युमा महासंघले १३ दिन शोक मनाउने भएको छ ।
महासंघ अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा आइतवार उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकार पौडेलको निधनमा शोक मनाउँदैं माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको महासचिव रोशन पुरीले बताउनुभयो । बैठकले सोमवार देखी नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।
यसैगरी पत्रकार एवम् केन्द्रीय सदस्य पौडेलको विमान दुर्घटनामा मृत्यु भएको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको महासंघले जनाएको छ । महासचिव पुरीले एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ । “महासंघले उदयीमान पत्रकार नेता गुमाएको छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” विज्ञप्तीमा उल्लेख छ ।
महासंघले स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना समेत व्यक्त गरेको छ ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य हुनुहुन्थ्यो । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिनुभएको थियो ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा हुनुहुन्छ ।