विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

भक्तपुर, माघ १
मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाण्डौंबाट पोखरा उडेको यति एअरलाइन्सको एएनसी एटीआर–७२ विमान आइतवार बिहान ११ बजे पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना भएको थियो । काठमाण्डौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको सो विमानमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।
विमान दुर्घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको थियो । सो बैठकले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
बैठकले विमान दुर्घटना सम्बन्धमा ५ सदस्यीय जाँचबुझ समिति समेत गठन गरेको छ । बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।
बैठकले विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि सरोकारवालाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय समेत गरेको छ ।