पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक – सांसद थापा

भक्तपुर, पौष २८
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक भएको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता स्व. कमलबहादुर खड्काको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ इकाई समितिले बिहिवार आयोजित कार्यक्रममा सांसद थापाले पार्टीभित्र काम गर्दै जाँदा कहीँ कतै विचार र कार्यशैली फरक हुन सक्ने बताउँदैं त्यसैका कारण पार्टी नै परित्याग गर्नु ठिक नभएको बताउनुभयो ।


उहाँले पार्टीको संगठन बिस्तारमा सबैले मेहनत परिश्रम गरेको र सबैले उत्तिकै दुःख गरेको बताउँदैं आपैंmले दुःख गरेर निर्माण गरेको पार्टी परित्याग गर्नु लोकतान्त्रिक चरित्र नभएको स्पष्ट पार्नुभयो ।
“कांग्रेस र कांग्रेसका कोहीसँग रिस उठदैमा हिजो कांग्रेसका लागि गरेको दुःख बिर्सेर आज कांग्रेसलाई समाप्त पार्न लाग्ने हो भने लोकतन्त्रवादी हुनु र कांग्रेस हुनुको के अर्थ भयो ? उहाँले प्रश्न गर्नुभयो । स्व. खड्का १६ वर्ष जेल बसेको प्रसंग कोट्याउँदैं थापाले हिजोको कठिन परिस्थितीमा जेलनेल भोगेका नेताहरुको योगदानले नै कांग्रेस आजको अवस्थामा आएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले कांग्रेसको किसान आन्दोलनको नेतृत्व गरेका स्व. खड्का सच्चा किसान नेता भएको बताउनुभयो ।


कार्यक्रममा स्थानीय समाजसेवी प्रेमबहादुर खड्काले स्व.कमलबहादुर खड्काको योगदानको चर्चा गर्दै कांग्रेसले सधै जनताको हितलाई केन्द्रमा राखेर अघि बढे मात्र स्व. कमलबहादुर जस्ता प्रजातन्त्र सेनानीहरुको सच्चा सम्मान हुने बताउनुभयो ।
वडा ईकाइ सभापति विजयकृष्ण खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पुर्व जिल्ला सभापति गणेशमान चक्रधरलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।