जनक शिक्षा सामग्री केन्द्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुखको अनुगमन, अनियमितता भएको पुष्टि भए स्थानीय सरकारले हस्तक्षेप गर्ने चेतावनी

भक्तपुर, पौष २८
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले बिहिवार जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ । केन्द्रमा गुणस्तरहिन कागज ल्याई करोडौं रुपैंयाको अनियमितता गरिएको भन्ने खबर सार्वजनिक भएपछि नगर प्रमुख र उपप्रमुख नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीसहितको टोली साथमा लिएर केन्द्रको अनुगमनका लागि पुग्नुभएको हो ।
बुधवार केही सञ्चारमाध्यममा केन्द्रले गुणस्तरहिन भनी फिर्ता पठाएको कागज केन्द्रकै केही पदाधिकारीहरुको मिलेमतोमा पुनः केन्द्रमा ल्याएको दावी सहितको खबर सार्वजनिक भएको थियो ।


अनुगमनका क्रममा नगर प्रमुख र उपप्रमुखसहितको टोलीले केन्द्रका प्रमुख प्रवन्ध निर्देशक अनिलकुमार झालगायतका कर्मचारीहरुसँग सो बारेमा जानकारी लिनुभएको थियो । जवाफमा केन्द्रका प्रवन्ध निर्देशक झाले घटनाको यथार्थ जानकारी छानविन गरेपछि मात्र बताउन सकिने जवाफ दिनुभयो ।
“हिजो बिदाको दिन कागज आएको छ । केन्द्रले फिर्ता पठाएको कागज नै ल्याएको भन्ने खबर सार्वजनिक भएको छ । यसबारेमा आज बिहानदेखी हामी जानकारी लिने काम गरिरहेका छौं,” उहाँले भन्नुभयो, “अहिले नै यस्तै हो भन्ने अवस्था छैन ।”


उहाँले कागज खरिद प्रक्रियाका कुनै अनियमितता नभएको दावी गर्दै केही सञ्चारमाध्यमहरुले केन्द्रका बारेमा भ्रम छरेको आरोप लगाउनुभयो । उहाँले केन्द्रमा आएको चार कन्टेनर कागज आइपुगेको बताउँदैं सो को गुणस्तर परीक्षण गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
बिदाकै दिन किन कागज आयो त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा झाले केन्द्रमा कागज आउने र पुस्तक छपाई हुने कार्य नियमित भइरहने भएकोले सार्वजनिक बिदाको दिनमा पनि कागज आउन सक्ने जवाफ दिनुभयो ।
सो अवसरमा नगर प्रमुखको टोली र केन्द्रका कर्मचारीबीच भनाभन समेत भएको थियो । केन्द्रका सूचना अधिकारी चित्रप्रसाद आचार्यले नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने आशय व्यक्त गरेपछि उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्थानीय सरकारको नाता र मध्यपुर थिमि नगर क्षेत्रमा रहेकाले केन्द्रमा हुने गतिविधिप्रति नगरपालिकाको चासो रहने र अनियमितता भए हस्तक्षेप गर्ने चेतावनी समेत दिनुभयो ।


“जनशक्ति र मेशिन पर्याप्त छ भन्ने तर समयमै जनताले पुस्तक नपाउने केन्द्रको लापर्वाही हो । आउँदो शैक्षिक सत्रमा पुस्तक समयमै नपुगे र यस्तै अनियमितताको खबर आइरहे स्थानीय सरकारले हस्तक्षेप समेत गर्नेछ,” उहाँले भन्नुभयो । उहाँले कतिपय विषय नगरपालिकासँग पनि सम्बन्धित हुने भएकाले छलफल एवं समन्वय गर्न आग्रह समेत गर्नुभयो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र सार्वजनिक चासोको कार्यालय भएकाले जवाफदेही हुनुपर्ने बताउनुभयो । “यो जनक शिक्षा व्यक्तिको पेवा होइन, जनताको सार्वजनिक सम्पत्ति हो, हामी मध्यपुरका बासिन्दाको जग्गा अधिग्रहण गरेर यहाँका शैक्षिक संस्थाहरु बसेका हुन्, यहाँ भ्रष्टाचारको गन्ध आउँनु हुदैन भन्ने स्थानीय सरकारको मान्यता हो, अहिले आएको कागजमा तपाईहरुले भ्रष्टाचार गरेको गन्ध आएको छ,” उहाँले भन्नुभयो, “त्यसैले यसमा हाम्रो पनि चासो रहन्छ ।”
छलफलमा वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले केन्द्रले समयमा पुस्तक नछाप्नाले लाखौं विद्यार्थीले पुस्तक नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।
प्रवन्ध निर्देशक झाका अनुसार केन्द्रले टेण्डर मार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रा.लि.संग गत भदौ २७ गते ७० ग्रामको कागज एक हजार मेट्रिक टन ३० दिन भित्र र थप ५ सय मेट्रिक टन आउँदो माघ ४ गतेसम्म ल्याईसक्नु पर्ने सम्झौता गरेको थियो ।
सो अनुसार सप्लार्यसले गत असोज २५ गतेदेखी कार्तिक ४ गतेसम्म १६५ टन कागज केन्द्रमा ल्याई पुर्याएका थिए । सो कागजको गुणस्तर परीक्षण गर्दा कागजको तौल ६४ ग्राम मात्र भएकोले तोकिएको गुणस्तर अनुसार नभएको भन्दै फिर्ता लैजान गत कार्तिक १७ गते सप्लार्यसलाई जानकारी गराएको केन्द्रका सूचना अधिकारी चित्रप्रसाद आचार्यले बताउनुभयो ।
सोही कागज सप्लार्यले गत पुस २४ र २५ गते १३ वटा कन्टेनरमा फिर्ता लगेको थियो । स्रोतका अनुसार केन्द्रबाट कागज लोड गरी लगेका कन्टेनर दुई रता मनोहरा नदि किनारको दिव्यश्वरी प्लानिङमा राखेर पुस २७ गते सार्वजनिक बिदाको दिन पुनः केन्द्रमा ल्याएका थिए ।


कागजले भरिएको कन्टेनरको पिछा गर्दै केन्द्रमा पुगेका सञ्चारकर्मीहरुसँग केन्द्रका केही कर्मचारीको विवाद भएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले केन्द्र भित्र प्रवेश गरेको ४ कन्टेनर नियन्त्रणमा लिनुका साथै कागजले भरिएको अन्य ९ वटा कन्टेनरलाई सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको विभिन्न स्थानमा पार्किङ गरिएको अवस्थामा नियन्त्रण लिएर प्रहरी प्रभाग सानोथिमिमा राखिएको छ ।
केन्द्रका सूचना अधिकारी आचार्यले सप्लार्यसले ल्याएका कागजको पुनः गुणस्तर जाँच गरिने र गुणस्तरहिन भए पुनः फिर्ता पठाईने जानकारी दिनुभयो । “त्यो कागज पुरानै गाडीमा पुरानै कागज ल्याएको भन्ने गुनासो आयो, अहिले प्रहरीले नियन्त्रणमा लिएको छ, गुणस्तर जाँच पछि त्यही कागज पाईए कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,” आचार्यले भन्नुभयो ।
उहाँले यसअघि पनि समयमा कागज सप्लाई नगरेको एक सप्लायर्सको ८ करोड धरौटी जफत गरिएको जानकारी दिँदैं अहिले सम्झौता अनुसार तोकिएको मितिमा कागज सप्लाई नगरे अहिलेको सप्लायर्सको ५ करोड धरौटी जफत गरिने बताउनुभयो ।
यसैबीच कागजमा अनियमितता भएको खबर सार्वजनिक भएपछि यसबारेमा शिक्षा मन्त्रालयको टोलीले समेत बुधवार केन्द्रको अनुगमन गरी घटनाको जानकारी लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले केन्द्रको कागज प्रकरणमा आएको चर्चाका बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासहितको कर्मचारीहरुसँग जानकारी लिएको हो ।