मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिए

भक्तपुर, पौष २७
मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन । वन्य जन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मंगलवार गरिएको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन ।
मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगतको वर्षको तुलनामा कम संख्यामा चरा भेटिएको फोटोग्राफर श्रेष्ठले बताउनुभयो । बढ्दो शहरीकरण र नदि तटिय क्षेत्रमा मानबीय हस्तक्षेप आदि कारणले पछिल्लो समय चराहरुको संख्यामा उल्लेख्य कमी आईरहेको श्रेष्ठले बताउनुभयो ।


शहरीकरण र मानबीय हस्तक्षेप आदि कारणले चराहरूको बासस्थानमा क्षति पुगेको टोली संयोजक श्रेष्ठको बुझाई छ । उहाँका अनुसार खोला आसपासका क्षेत्रमा बढ्दो निर्माण, डोजर र ड्रिल आदिको बढ्दो प्रयोगले चराचुरुङ्गीको बासस्थान विनास हुँदैं गइरहेको छ ।
जल पंक्षीहरुको संख्यामा कमी आउनुको अर्को कारक खोलाको पानी प्रदुषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याक्ने चलन, ढल मिसाउने, बिभिन्न उद्योग कलकारखाना आदिबाट विना फिल्टर वा प्रशोधन नगरी नदिमा सिधै पानी विर्सजन गर्ने कुप्रथाले पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाब हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको चरा गणनामा संलग्न अर्का फोटोग्राफर चन्द्र चक्रधरले बताउनुभयो । “नदि प्रदुषणले गर्दा प्राकृतिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको संख्यामा कमी आएको छ,” उहाँले भन्नुभयो ।


मनोहरा क्षेत्रको अर्को ठूलो समस्याको रुपमा रहेको बालुवा चोरी निकासीले गर्दा चराहरूको संख्यामा कमी आएको टोलीको निष्कर्ष रहेको छ । बालुवा तस्करीका कारण खोला आसपास मानबीय गतिबिधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाब हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठले बताउनुभयो ।


मनोहरा नदि र मध्यपुर थिमि वडा नंं ८ र ९ मा रहेको मनोहरा मिनी कोसीटप्पुमा साईप्रस र युरोपका विभिन्न देशहरुबाट जाडो छल्नका लागि विभिन्न प्रजातिका आगन्तुक चराहरु आउने गर्दछन ।
मनोहरा नदि आसपास चरा गणनामा संजय था श्रेष्ठको नेतृत्वमा फोटोग्राफरहरु चन्द्र चक्रधर, विनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, विद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, विक्की अदुवा र शैलेन्द्र भासिक सहभागी भएका थिए ।