संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो – सांसद थापा

भक्तपुर, पौष २७
प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नुभएको छ ।
भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको बुधवार आयोजित आठौं साधारणसभा एवम् चौंथो अधिवेशनमा सांसद थापाले संसदको आफ्नो पहिलो अनुभव सुनाउँदैं संसद देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने भन्दा पनि दलका नेताहरुले एक अर्कालाई छेडछाड गर्ने थलो बनेको बताउनुभएको हो ।
“एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ । हामीलाई पाठ पढाउनुहुन्छ । अनी हामीले उनीहरुले भनेका कुरा सुन्ने, थपडी बजाउने संस्थाको नाम प्रतिनिधि सभा रहेछ,” उहाँले भन्नुभयो । प्रतिनिधि सभा यस्तो संस्था भएपछि कुनै व्यवसायी, आम नागरिकका समस्या समाधान गर्ने, सम्बोधन गर्ने थलो बन्न नसक्ने उहाँको भनाई थियो ।
उहाँले दलका नेताहरुको ध्यान सत्तामा मात्र केन्द्रीत हुँदा संसदमा देश, जनता र व्यवसायीहरुका समस्याका बारेमा छलफल हुन नसकेको बताउनुभयो । “कुनै व्यवसायको, कुनै क्षेत्रको समस्याको बारेमा न त्यहाँ छलफल भयो, न त्यहाँ सम्बोधन भयो, न राष्ट्रको बारेमा त्यहाँ चिन्ता देखियो, मात्र कुर्सी मोह देखियो,” उहाँले भन्नुभयो ।
उहाँले कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको दावी गर्नुभयो । “हिजो देशले स्थिर सरकार प्राप्त गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ,” उहाँले भन्नुभयो, “नत्र कसैले तान्ने बित्तिकै कुर्सी खुस्किने अवस्था थियो । त्यसको अन्त्य भएको छ ।”
उहाँले कसको सरकार छ, कुन दलको को प्रधानमन्त्री छ, राष्ट्रपति कुन दलको छ, सभामुख को छन त्यसले कुनै अर्थ नराख्ने बताउँदैं संसद पाँच वर्ष टिक्नुपर्नेमा जोड दिनुभयो । “पाँच वर्षको लागि निर्वाचित संसद पाँच वर्ष चल्नुपर्छ । देशको समृद्धिको खाका कोर्नुपर्छ, उहाँले भन्नुभयो सबै क्षेत्रको सम्बोधन हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र होइन सबै क्षेत्रमा समस्या रहेको बताउनुभयो । उहाँले नेताहरुको घरमा पैसा थुप्रिएको टिप्पणी गर्दै विप्रेषण हुन्डी मार्फत आउने, बढ्दो आयातलगायतले नेपालमा आर्थिक मन्दी आएको बताउनुभयो ।
उहाँले एउटा सांसद सबै क्षेत्रको विज्ञ बन्न नसक्ने भन्दै समसामयिक क्षेत्रको समस्या उठान र समाधानका लागि सम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले कानुन मार्फत सबै क्षेत्र र व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताउँदैं त्यस्ता कानुन बनाउन आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जग्गा व्यवसायको काम गर्ने र सोही जग्गामा बाटो लगेर विकासवादी हुने प्रवृत्ति आफुमा नहुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले समाजमा हुने विविध सामाजिक कार्यलाई व्यवस्थित र सुरक्षित गर्न मद्दत गरेको बताउँदैं यदाकदा यो व्यवसायमा पनि विकृति विसंगती देखिएको भन्ने उपभोक्ताहरुको गुनासो बढेकोले व्यवसायीहरुले पनि स्वच्छ, पारदर्शी र सस्तो तथा सरल सहज ढंगले सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहश हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
अर्का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि व्यवसायमा देखिएका समस्या समाधानमा सोही व्यवसायीहरु बढी सक्रिय हुनुपर्ने बताउँदैं व्यवसायीहरु पनि जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको चर्चा गर्नुभयो ।
संघका अध्यक्ष सचिन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सचिव राजेन्द्र देउजा, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिलगायतले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन कमिटिका संयोजक धर्मरत्न खाईतुका अनुसार संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, सदस्यमा भक्तलाल श्रेष्ठलगायत सर्वसम्मतले चयन भएका छन ।