बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन – नगर प्रमुख प्रजापति

भक्तपुर, पौष २५
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउँदैं कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नहुनेमा जोड दिनुभएको छ ।
नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले सोमवार आयोजित खोप सम्बन्धी कार्य योजना गोष्ठीमा नगर प्रमुख प्रजापतिले सरकारबाट निःशुल्क रुपमा प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा नपाएर धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउन परिरहेको यथार्थ प्रस्तुत गर्दै स्वास्थ्य संस्थाहरु जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । राज्य बलियो भए निजी संस्थाहरु स्वतः कमजोर हुँदै जाने बताउँदैं उहाँले सरकारी अस्पतालको स्तरोन्नतितर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य संस्थाको कार्यक्षेत्रभित्रको आधारभूत जानकारी प्रस्तुत गर्दै खोप कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्यहरुमाथि प्रष्ट पार्नुभयो ।
गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा हाल ८० प्रतिशत मात्र पूर्ण खोप लगाएको अवस्था रहेको बताउँदै शत प्रतिशत खोपको सुनिश्चितता हाम्रो योजना हो भन्नुभयो ।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप कार्यक्रमको उपलब्धीहरुमाथि चर्चा गर्दै खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा पुर्याउने र सो कायम गर्ने योजना रहेको बताउनुभयो ।