भक्तपुरको बालकोटमा ग्यास विस्फोट

भक्तपुर, पौष २५
भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सोमवार बिहान ग्यास विस्फोट भएको छ । विस्फोटबाट थपलियाकी पत्नी तारा घले थपलिया घाईते हुनुका साथै भान्सा कोठाको पर्खाल, घरको झ्यालका सिसा, पार्किङमा राखिएको गाडीको सिसाका साथै वरिपरीका घरको सिसाहरु फुटेर क्षती भएको छ । घाईते ताराको अवस्था अस्पतालमा उपचारपछि सामान्य रहेको प्रहरी वृत्त थिमीका प्रमुख डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार बिहान सबेरै भान्सामा गएकी ताराले भान्सा कोठाको ढोका खोल्ने बित्तिकै एक्कासी ठूलो आवाजका साथ विस्फोट भएको थियो । विस्फोटले थपलियाको घरमा भने ठुलो क्षती पुगेको देखिन्छ । स्थानीयले यस्तो ग्यास बिस्फोट पहिलोपटक देखेको बताएका छन् ।
ठूलो आवाजका साथ भएको विस्फोटपछि प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) राजु पाण्डेले बताउनुभयो ।


घटनाको प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भई जम्मा भएको ग्यास विस्फोट भएको खुल्न आएको प्रहरीले बताएको छ । “घटनास्थलमा ग्यासको सिलिण्डर जस्ताको तस्तै देखिन्छ, अन्य कुनै वस्तु विस्फोट भएको जस्तो देखिएन,” प्रहरी स्रोतले भन्यो ।
विस्फोटको घटनापछि नेपाली सेनाको विस्फोटक पदार्थ सम्बन्धि हेर्ने युनिट, प्रहरीको डग स्टेसनबाट कुकुर समेत ल्याई अनुसन्धान गरिएको डिएसपी पाण्डेले बताउनुभयो ।