फिनल्याण्ड पठाउने भनी ठगी गरेको आरोपमा युवती पक्राउ

भक्तपुर, पौष २४
फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुनलाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।
पुनले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्साप, इमोको दुरुपयोग गरी फिनल्याण्डमा आकर्षक तलब सुविधामा रोजगारी मिलाई दिन्छुभनी शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानी, फोटोलगायतका कागजपत्र पठाउन लगाउने र ती कागजपत्र पठाउनेहरुलाई जब अफर लेटर, वर्क परमिटलगायतका कागजपत्र पठाई रकम समेत जम्मा गर्न लगाई सम्पर्क विहिन हुने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाले बताउनुभयो ।
पुनले पिडितलाई फिनल्याण्डमा खानेबस्ने सुविधा सहित मासिक १ हजार ५० युरो कमाई हुने र फिनल्याण्ड जान ५ लाख लाग्ने भन्दै एनआईसी बैंकमा रहेको खातामा पटक पटक गरी ७ लाख जम्मा गर्न लगाई सम्पर्क विहिन भएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको एसपी कोइरालाले बताउनुभयो ।
पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।